कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

लोकपथ
117
Shares

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् ।

एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखतका क्रममा बहुमत जुटेसँगै संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा गठबन्धनमा आबद्ध दलहरुले नेकपा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए । उक्त सहमतिप्रति असहमति जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षधर कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा आएका कार्की कोशी प्रदेशको आठौँ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् ।

यसअघि सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका एमालेका हिक्मतकुमार कार्कीले  असोज २० गते विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए ।

प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?