काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी ठिक दिशामा अघि नबढेको बताएका छन् ।
शुक्रबार गोरखा जिल्लाको दोस्रो जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै कांग्रेसलाई कहिले एमाले, कहिले माओवादी त अहिले राप्रपाले खेलाउन थालेको टिप्पणी गरे ।
कोशी प्रदेशमा राप्रपाले अन्तिम अवस्थामा साथ नदिएकोप्रति लक्षित गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
‘कांग्रेसलाई कहिले एमालेले खेलाइदिने, कहिले माओवादीले खेलाइदिने । अहिले त राप्रपाले पनि खेलाइदियो,’ महामन्त्री थापाले भने ।
त्यस्तै अहिलेको मुख्य चुनौती पार्टीलाई माओवादीकरण, एमालेकरण हुन नदिनका लागि लाग्नुपर्नेमा जोड दिए । साथै पार्टी नेतृत्वप्रति वितृष्णा बढिरहेको भन्दै पार्टीलाई नयाँ पुस्ताको भरोसायोग्य बनाउन सक्ने पार्टी बनाउनु चुनौती रहेको बताए ।
‘कांग्रेस पार्टीलाई माओवादीकरण हुन नदिने, एमालेकरण हुन पनि नदिने र कांग्रेसको राप्रपाकरण हुन पनि नदिने हो । कांग्रेसलाई कांग्रेसजस्तै बनाउने हो, यसको छवि उज्यालो बनाउँदै नयाँ पुस्तालाई भरोसा दिन सक्ने बनाउँछौँ,’ उनले भने ।
त्यस्तै सत्यको पक्षमा उभिँदा कहिले एक्लै परिने बताउँदै पार्टीलाई विधिसम्मत तरिकाले चलाउनका लागि आफू कटिवद्ध भएर लागेको बताए ।
‘घेराबन्दीमा परे पनि केही हुन्न । केन्द्रीय समिति बैठकमा एक्लै परिन्छ कहिलेकाहीँ। आफ्नै साथीले पनि साथ छोड्छन् । तर, केही छैन पार्टीलाई विधिसम्मत चलाउने हो,’ महामन्त्री थापाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया