कोशी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी

लोकपथ
325
Shares

विराटनगर । कोशी प्रदेशमा आज नयाँ मुख्यमन्त्रीको टुंगो लाग्ने सम्भावना छ । मुख्यमन्त्री बन्नका लागि हिजो बिहीबार दुई जनाले दाबी पेस गरेका थिए ।

सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले दाबी पेस गरेका छन् ।

यसैगरी केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट रहेको नेपाली कांग्रेसको शेखर कोइराला पक्षका सभासद केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । उनले कांग्रेसका ८ तथा नेकपा एमालेका ३९ जना सभासदको समर्थनसहित दाबी पेस गरेका हुन् ।

दाबी पेस भएअनुसार अध्ययन गरी प्रदेश प्रमुख पर्शुराम खापुङले आज नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

आङ्बोले माओवादीसहित नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी संसदीय दलका नेताको हस्ताक्षरमा आफूलाई ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

कार्कीले ४८ जना सांसदको छुट्टाछुट्टै हस्ताक्षरसहित दाबी पेस गरेका छन् । उनलाई एमालेका ३९ जना सांसदको समर्थन छ ।

कार्कीका पक्षमा उनी स्वयंसहित कांग्रेसबाट उदयपुरका सांसद रामकुमार खत्री, इलामका शमशेर राई र गोविन्द गिरी, धनकुटाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीकी सुनीता गुरुङ र उदयपुरकी लीलाकुमारी राईले सुरुमा हस्ताक्षर गरेका छन् । यसैगरी संसदीय दलका उपनेतासमेत रहेका उदयपुरका हिमाल कार्कीले पनि उनको पक्षमा हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले शुक्रबार ५ बजेसम्मको समय रहेकाले शुक्रबारै नियुक्त गर्ने तयारी भएको बताएका छन् । मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएकाले छलफल भइरहेको बताए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ । कोशीमा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जनता समाजवादी पार्टी (जसपा) का एकजना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?