राष्ट्रियसभा बैठक : विशेष आर्थिक क्षेत्र र भूउपयोग विधेयक टेबुल हुँदै

काठमाडौं । राष्ट्रियसभाको तेस्रो अधिवेशन बैठक आज (बुधवार) बस्दैछ । 

बुधवार दिउँसो १ बजे संघीय संसद नयाँबानेश्वरमा बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशलाई टेबुल गर्ने कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ । 

राष्ट्रियसभाका सचिव फुयालले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५’ र भूउपयोग विधेयक, २०७५’लाई टेबुल गर्ने छन् । 

यसैगरी विधेयन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त गरेका ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक र लेखा परीक्षण विधेयकसम्बन्धी समितिका प्रतिवेदनहरु प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । 

साथै आजै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद विकास विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव भट्टराईले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?