प्यूठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सहकारीहरुलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताएकी छन् ।
जिल्ला सहकारी संघ प्यूठानले आयोजना गरेको सहकारीको प्रवर्धनमा स्थानीय तहको भूमिका विषयक वृहत अन्तक्र्रियालाई सम्बोधन गर्दै उहाँले अहिले अधिकांश सहकारीहरु ऋण वचतमा मात्रै केन्द्रित भएको भन्दै यो प्रवृत्तिलाई राकेर सहकारीहरुलाई उत्पादनमा केन्द्रित गनुपर्ने बताईन ।
‘सहकारीमा विविधिकरण ल्याउनु आवश्यक छ । धेरै सहकारीहरु वचत र ऋणमा केन्द्रित भएको देखिन्छ । यसलाई विविधिकरण गर्दै उत्पादन, प्रशोधन, वितरण र उपभोगमा सहकारीको दायरा विस्तार गर्नु आवश्यक छ’, उनले भनिन्, ‘स्थानीय श्रम, सीप र पूँजीलाई अधिकतम रुपमा परिचालन गरी सहकारीलाई अर्थतन्त्रको एक सवल स्तम्भको रुपमा विकसित गर्न यसको विविधिकरणमा ध्यान दिनैपर्छ । कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण एवं कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संघ संस्थाहरुको संलग्न गराउनेतर्फ स्थानीय तहहरुले विशेष ध्यान दिनु आवश्यक छ ।’
स्थानीयस्तरमा क्रियाशील सहकारीहरु कृषि उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिदै मन्त्री शर्माले ग्रामीण क्षेत्रमा स्थानीय श्रम, सीप र साधनमा आधारित कृषि सहकारी संस्थाहरुको सक्रियताबाट उत्पादन र वितरण सुदृढ गरी खाद्य सुरक्षा पनि सुनिश्चित गर्न सकिने बताईन ।
प्यूठानजस्तो भौगोलिक अवस्थिति भएको जिल्लामा कृषि सहकारीहरुलाई विशेष प्रोत्साहन गर्दै विशिष्टीकृत कृषि एवं वनजन्य उत्पादनमा जोड दिने नीति स्थानीय तहहरुले बनाउनु उपयुक्त हुने उनको सुझाव थियो ।
स्थानीय तहहरुले सहकारी संस्थाहरुको अग्रसरता र संलग्नतामा सञ्चालन हुने उत्पादन, प्रशोधन र वितरणको कार्यलाई प्रोत्साहन गर्ने नीति बनाउनु आवश्यक रहेको औल्याउँदै उनले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको परिकल्पना गरेको र सहकारीलाई तीन खम्बे अर्थनीतिको एउटा खम्मा मानेकाले अब सहकारीहरुलाई समाजवाद निर्माणको आधारको रुपमा स्थापित गर्नुपर्ने बताईन ।
अर्थतन्त्रमा सहकारी क्षेत्रको भूमिका बढाउँदै गएमा घरेलु तथा साना, मझौला र सहकारितामा आधारित ठूला औद्योगिक व्यवसायको सञ्चालन गर्न सकिने उल्लेख गर्दै उनले यसतर्फ पनि सहकारीको भूमिका फराकिलो बनाउँदै लैजानुपर्ने बताईन । परम्परागत उत्पादन र पेशा लोप हुँदै गएकाले सहकारीमार्फत यसको प्रवर्धन गर्न सकिनेमा उनले जोड दिईन ।
पछिल्लो समय सहकारी क्षेत्रमा बेथितिहरु देखिन थालेको उल्लेख गर्दै उनले केही सहकारी र सहकारीकर्मीबाट हुने बेथितिलाई सहकारी क्षेत्रकै कमजोरीको रुपमा लिन नहुने र त्यभित्रको कमजोरी स्वयं सहकारी क्षेत्रले नै अन्त्य गर्नुपर्ने मन्त्री शर्माको जोड छ । राजनीतिमा केही नेताले भ्रष्टाचार गर्दा राजनीतिलाई बदनाम गर्ने, सहकारीमा लागेका केहीले कमजोरी गर्दा सहकारी क्षेत्रमाथि नै बदनाम गर्ने प्रवृत्ति गलत भएको भन्दै उनले अंशलाई टिपेर प्रणालीमाथि नै प्रहार गर्ने प्रवृत्तिविरुद्ध सचेत हुन सबैलाई आग्रह गरिन ।
यस्तै राष्टिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले देशभर सञ्चालित ३२ हजारमध्ये २३ हजार सहकारी स्थानीय तहकै मातहत रहेकाले सहकारीको प्रवर्धनमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।
देशभरका सहकारीकर्मीमध्ये ५६ प्रतिशत महिला रहेको औल्याउँदै उनले यो समावेशिताको अभ्यास गर्ने महत्वपूर्ण थलो भएको र अब समाजवाद निर्माणको आधार बनाउन सकिने बताए । जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया