गौचन हत्याकाण्ड : कहाँ पुग्यो अनुसन्धान, स्केच बन्यो तर … ?

काठमाडौँ, १० कात्तिक- निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको १८ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न सकेको छैन । २३ असोजको मध्याह्नमा शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । घरबाट निस्केका गौचनमाथि आपराधिक समूहले सार्प सुटरको प्रयोग गरी गोली हानेको थियो घटनाको भोलिपल्टै प्रहरी प्रधान कार्यालयले डीआईजी गणेश केसीको नेतृत्वमा सात सदस्यीय छानबिन कमिटी गठन गरेको थियो । स्रोतका अनुसार समितिले गोली प्रहार गर्न चार जना खटिएको निष्कर्ष निकाल्दै सम्भावित अभियुक्तको स्केचसमेत बनाइसकेको छ । उच्च प्रहरी स्रोतका अनुसार भारतमा बसी असुली धन्दा चलाइरहेका मनोज पुनको समूहले नै गौचनको हत्या गरेको निष्कर्षमा त प्रहरी पुगेको छ तर त्यसका पर्याप्त आधार भने जुटाइसकेको छैन । प्रहरीका अनुसार हत्यामा नाइन एमएमको पेस्तोल प्रयोग भएको थियो । गत चैतमा गौरीघाटमा गुन्डा नाइके दावा लामामाथिको गोली प्रहारमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । यस आधारमा पनि प्रहरीले गौचन हत्यामा मनोज पुन समूहको संग्लनता रहेको निष्कर्ष निकालेको हो प्रहरीले गौचनको हत्यामा भाडाका सुटर प्रयोग गरिएको थियो कि पुन समूहकै सदस्य प्रत्यक्ष रूपमा खटिएका थिए भन्ने निक्र्योल गरिसकेको छैन । छानबिन समितिका एक सदस्यका अनुसार प्रहरीले हत्यामा नेपाली सुटरकै प्रयोग भएको भन्ने निष्कर्ष भने निकालिसकेको छ घटनास्थल वरपर कुनै सीसीटीभी क्यामेराको कभरेज नभएपछि प्रहरीलाई अनुसन्धानमा केही अप्ठ्यारो परेको थियो । प्रहरीका अनुसार गोली हानी मोटरसाइकलमा भागेका हत्यारा कात्यायनी चोक हुँदै पिंगलास्थान निस्किएर कपनतिर भागेको हुन सक्ने अनुमान छ । प्रहरीले सुटर चढेको भनिएको एक मोटरसाइकल तिलगंगा छेउबाट कपन निस्कने जंगलमा फेला पारेको थियो । बेवारिसे फेला परेको कालो रङको साइन मोटरसाइकल नै सुटरले प्रयोग गरेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाए पनि त्यसबाट खोजेजस्तो सूचना प्रहरीले पाउन सकेन । स्रोतका अनुसार उक्त मोटरसाइकलका धनी को थिए भनेर प्रहरीले यातायात व्यवस्था विभागबाट जानकारी लिने प्रयत्न गरेको थियो तर मोटरसाइकलको नम्बर विभागको ढड्डामा भेटिएन । प्रहरीले रातो कालो रङको पल्सर मोटरसाइकल पनि घटनामा प्रयोग भएको निष्कर्ष निकालेको छ तर उक्त मोटरसाइकल न प्रहरीले फेला पारेको छ न त्यसका धनी को थिए भन्ने नै प्रहरीले विशेष टोली बनाएर सुटरका रूपमा पहिचान भएका एक युवाको व्यापक खोजी जारी राखेको छ, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?