त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटासम्म ट्रली अट्ने लिफ्ट सञ्चालनमा

लोकपथ
322
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १५ वटासम्म ट्रली अट्ने लिफ्ट सञ्चालनमा आएको छ । विमानस्थलले बुधबारबाट उक्त लिफ्ट सञ्चालनमा ल्याएको विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले लोकपथलाई जानकारी दिए ।

हाल विमानस्थलमा तीनवटा लिफ्ट थिए । जसमा एउटा लिफ्टमार्फत तीन वटामात्र ट्रली ल्याउन सकिन्थ्यो । त्यसैले आगमन कक्षमा यात्रुहरुले ट्रलीकै लागि लामो समय कुर्नुपर्ने बाध्यतालाई हटाउन ठूलो क्षमताको लिफ्ट सञ्चालनमा ल्याइएको तिवारीले बताए । ‘हामीसँग यसअघि तीनवटामात्र लिफ्ट थिए,’ उनले भने, ‘जसमार्फत एकपटकमा ९ वटामात्र ट्रली ल्याउन सकिन्थ्यो तर, अब एउटै लिफ्टबाट १५ वटासम्म ट्रली ल्याउन सकिने छ ।’

साथै, ति तीनवटा लिफ्ट पनि सञ्चालनमा रहने उनले बताए । ‘पहिलादेखि चलेका तीनवटा लिफ्ट पनि चल्छन्,’ उनले भने, ‘यसले यात्रुहरुलाई सहज हुने हामीले विश्वास लिएका छाैँ ।’

विमानस्थलमा यात्रुहरुले ट्रलीको पर्खाइमा लामो समय कुर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले ठूलो क्षमताको लिफ्ट सञ्चालनमा ल्याउनका लागि विमानस्थललाई निर्देशन दिएका थिए । ‘मन्त्री ज्यूले पनि यसलाई चासोका साथ लिनुभएको थियो,’ तिवारीले लोकपथसँगको कुराकानीका क्रममा भने ।

उक्त लिफ्टलाई निजी क्षेत्रको आइएमएस प्रा.लिले सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?