एमाले सुदूरपश्चिमको अधिवेशनमा भीम रावललाई किन गरियो निषेध ?

लोकपथ
416
Shares

काठमाडौं । आजबाट नेकपा एमाले सुदूरपश्चिमको अधिवेशन शुरु हुँदैछ ।

प्रदेश संरचनामा गएपछि एमालेले पहिलोपटक अधिवेशनमार्फत् नेतृत्व चयन गर्न लागेको हो ।

अधिवेशनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित महासचिव शंकर पोखरेल लगायतका नेताहरु उद्घाटनका लागि आज धनगढी जाँदैछन् ।

तर एमालेका पूर्व उपाध्यक्ष समेत रहेका सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावललाई भने बोलाइएको छैन । रावल आफ्नो गृह जिल्ला अछाममा रहेका छन् । तर आफूलाई कुनै पनि खबर नगरिएको लोकपथसँग जानकारी दिए ।

‘म गृह जिल्ला अछाममा नै छु । तर मलाई अधिवेशनबारे कुनै निमन्त्रणा आएको छैन ।’ उनले भने ।

एमालेको चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका रावललाई पार्टीले हरेक गतिविधिमा निषेध गर्दै आइरहेको छ । त्यसो त गत निर्वाचनमा उनलाई टिकट समेत दिइएको थिएन । एमालेको नेताको हैसियतमा उनलाई कुनै जिम्मेवारी समेत दिइएको छैन ।

पार्टीले तपाईंलाई किन पटकपटक निषेध गरेको होला ? भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘खै मलाई थाहा भएन, म पार्टीले कुनै जिम्मेवारी नदिँदा पनि संगठन निर्माणका लागि लागिरहेको छु तर किन हरेक क्षेत्रमा निषेध गरिन्छ मलाई थाहा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?