कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले दिए राजीनामा

लोकपथ
78
Shares

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज (शनिबार) बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन् । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो ।

संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि राजीनामा दिने निर्णयमा पुगेका हुन ।

दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानको धारा १६७ (३०) अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुन १६८ ९५०अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नपाउने सुझाव दिएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दै छ ।तर, अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था नदेखिएपछि राजीनामा दिएका हुन् ।

आज (शनिबार) भएको प्रदेशसभाको बैठकमा बोल्दै उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै उनले आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको पनि जिकिर गरे । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलीजुली बनाउनु नै अन्तिम विकल्प भएको दाबीसमेत गरे ।

प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे ।

नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीले आफ्नो पक्षमा बहुमत नभएपछि विश्वासको मत लिने प्रस्ताव फिर्ता लिएसँगै कोशी प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?