ट्राफिक प्रहरीको लापसे चेकिङ : ३ जना चालक नियन्त्रणमा

लोकपथ
189
Shares

भक्तपुर । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ना ६ ख ५१ ९६ नम्बरका ट्रक चालक मकवानपुरको भिमफेदी गाउँपालिका २ भैँसेका २८ वर्षीय राजन विक, बा २ ख ८२ ०५ नम्बरको मिनी ट्रक चालक रोल्पाको जुरा घर भएका २७ वर्षीय दीपक विक र बा ५ ख ५२ ७७ नम्बरका हाईस चालक धादिङको गल्छी गाउँपालिका ५ का ३४ वर्षीय रमेश कमरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ‍तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती पठाइएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलीले हिजो ९ ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका थिए ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । आफू सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?