रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध नलाग्न राष्ट्रिय जनाता पार्टी (राजपा) नेपाललाई चेतावनी दिएका छन् ।
शनिवार रौतहटको गरुडामा प्रदेशस्तरीय आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले राजपाप्रति लक्षित गर्दै भने, ‘जनतालाई झुक्याएर एक पटक भोट पाउँदैमा कसैले पनि आफूलाई सर्वेसर्वा नठाने हुन्छ ।’
कैलाली घटनामा आरोपी रेशम चौधरीलाई गत बुधवार जिल्ला अदालत कैलालीले दोषि ठहर गर्दै जन्मकैदको फैसला सुनाए लगत्तै राजपाले सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सो सँगै तराईमा फेरी आन्दोलन गर्ने राजपा नेताहरुको तयारी छ ।
यस्तै फरक प्रसंगमा प्रधानमन्त्री ओलीले मुलुकमा अन्धविश्वास अझै कायमनै रहेको बताए ।
उनले भने, ‘अन्धविश्वासले तराईलाई अझ बढी गाँजेको छ, बोक्सीको बहानामा महिलामाथि कुटपिट गर्ने, चरम यातना दिने क्रम रोकिएको छैन ।’
मुलुकमा बोक्सी नहुने र बोक्सीको आरोपमा महिलामाथि कुटपिट, अपमान र यातना दिन नहुने उनले बताए ।
‘समाजमा बोक्सी हुँदैन, बोक्सी हुने भएको भए निर्वाचनका विरोधीलाई टोकेरै सिध्याउँथे, बोक्सी नेपालमा मात्र हैन संसारमा कहीँ हुँदैन, कोही बोक्सी छ भने मलाई खाओस्, बोक्सीको आरोपमा कसैलाई कुटपिट गर्नु, यातना दिन गम्भीर अपराध हो, त्यस्ता व्यक्तिलाई कारबाही हुन्छ र गरिन्छ ।’ प्रधानमन्त्री ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया