नेपालगञ्जमा आज पनि कर्फ्यू जारी, सर्वपक्षीय भेलाको तयारी

लोकपथ
49
Shares

रूपन्देही । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यूलाई आज पनि निरन्तरता दिएको छ ।

हिन्दू र मुस्लिम समुदायबीचको तनावका कारण शान्ति सुरक्षामा चुनौती बढेपछि मंगलबार दिउँसो १ बजेदेखि जारी कर्फ्यूलाई आज पनि कायम राखिएको हो ।

बुधबार सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर कर्फ्यू हटाउने कि नहटाउने निर्णय लिइने स्थानीय प्रशासनले जनाएको छ ।

दुवै पक्षका प्रतिनिधिसँग छलफलको प्रयास भइरहेको बाँकेका सीडीओ विपिन आचार्यले जानकारी दिए ।

यस्तै बैठकमा सबै धार्मिक समूहका प्रतिनिधिलाई पनि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठोरले बताए ।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुस तथा सभा समारोह, हुलहुज्जत गर्न प्रशासनले बन्देज लगाएको छ ।

कर्फ्यूको कारण बुधबार बिहानैदेखि नेपालगञ्ज क्षेत्र सुनसान छ भने बजार र यातायात बन्द छ । स्थानीय घरभित्रै बसेका छन् । नगर क्षेत्रमा कर्फ्यूका बीच दुई समूहबीच झडप भएपछि मंगलबार साँझदेखि सेनासमेत परिचालन गरिएको छ। दुई समूहको झडपमा केही घाइते भएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?