नेपालगञ्जमा कर्फ्यूबीच पनि झडप, सेना परिचालन

लोकपथ
133
Shares

काठमाडौं । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।

सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा प्रशासनले कर्फ्यु लगाएको थियो तर दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।

हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेबाट कर्फ्यू लगाइएको छ भने ठूलो संख्यामा गल्ली-गल्लीमा प्रहरी परिचालित छन् ।

नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यका अनुसार अहिले झडप रोकिएपनि शान्ति सुरक्षा कायम गर्न सेनाको सहयोग लिइएको हो ।

दुवै समूहलाई छलफलका लागि बोलाइएको भएपनि अहिलेसम्म कोही नआएको र उनीहरुलाई बार्तामा ल्याउने प्रयास जारी रहेको उनले जानकारी दिए ।

मोहम्मद डेको दिन एक स्थानीयले सामाजिक सञ्जालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएपछि नेपालगञ्ज अशान्त बन्दै आएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?