काठमाडौं । ‘समृद्धि एंव पुनर्लाभयुक्त शहरः उत्थानशील अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व बसोबास दिवस मनाइने भएको छ ।
नेपालमा पनि भोलि (सोमबार) यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।
कार्यक्रममा विश्व बसोबास दिवस २०८० मूल तयारी समितिका संयोजक दिलीप भण्डारीले सरकारको तर्फबाट भौतिक पूर्वाधारमा लगानी न्यून भएको भन्दै आगामी दिनमा त्यसमा लगानी बढाउन प्रयासरत रहेको बताए ।
उनले भने, ‘आर्थिक अवस्थाको कारणले गत वर्षको भन्दा करिब ३३ प्रतिशत बजेट कम छुट्याउन सक्यौं । त्यसले गर्दा हामीले साचेको अनुरुप भौतिक पूर्वाधारहरु बनाउन सकिएन । जबसम्म निर्माण गर्न सक्दैनौँ तबसम्म निजी क्षेत्रले आर्थिक पूर्वाधार बनाउने सम्भावना कम हुन्छ । सरकारको तर्फबाट नै भौतिक पूर्वाधारमा लगानी न्यून छ, त्यसकारण निजी क्षेत्र कम मात्रामा मात्रै आउने गरेका छन् । आगामी दिनमा त्यसमा लगानी बढाउन प्रयासरत छौं । निजी क्षेत्रलाई आउन प्रोत्साहन होस् ।’
उनले शहरी विकास मन्त्रालय र यस अन्तर्गतका निकाय तथा कार्यालयहरुले क्षेत्रीय शहरी विकास आयोजना, शहरी करिडोर आयोजना, नयाँ शहर आयोजनामार्फत् स्थानीयतहहरूमा सामाजिक तथा आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु कार्यान्वयन गर्दै आएको बताए ।
उनले भने, ‘शहरी विकास मन्त्रालय र यस अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विभाग र सम्बद्ध निकायहरुले दिगो शहरीकरण र सम्वृद्ध अर्थतन्त्रलाई मूल मन्त्र मानेर सघन शहरी विकास कार्यक्रम क्षेत्रीय शहरी विकास आयोजना, शहरी करिडोर आयोजना, नयाँ शहर आयोजनामार्फत विभिन्न स्थानीयतहहरूमा सामाजिक तथा आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु कार्यान्वयन गर्दै आएको छ ।’
त्यस्तै, उनले प्रस्तावित शहरी नीति, २०७९ ले सुन्दर जीवन्त, समावेशी र समृद्ध शहरको दूरदृष्टि तय गरेको भन्दै यसले तहगत शहरी योजनाको कार्यान्वयनमार्फत् न्यूनतम शहरी पूर्वाधार अवस्था सूचक कम्तीमा ५० प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायत विभिन्न नगरपालिकाहरु, संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम, काठमाडौ उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, राष्ट्रिय आवास कम्पनी लिमिटेड, नेपाल नगरपालिका संघ, शहरी तथा क्षेत्रीय योजनाकार समाज नेपाल (रुप्सान), सोसाइटी अफ नेप्लिजआर्किटेक्टस् (सोना), इन्जिनियरिङ्ग अध्ययन संस्थान, नेपाल जग्गा तथा आवास विकास संघ, अन्तर्राष्ट्रिय आप्रवासी संगठन, नेपाल रेडक्रस सोसाइटी, एकीकृत शहरी विकास केन्द्र (सीआइडी), लुमन्ति आवासका लागि सहयोग समूहलगायत विभिन्न गैरसरकारी संघ संस्थाहरुको सहयोग एवं सहकार्यमा यो दिवस मनाउने कार्यक्रम तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया