काठमाडौं । वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको ‘सर्वाइवल नोट’ नामक कवितासंग्रह लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा डा. अधिकारीको जन्मदिनको अवसरमा ‘सर्वाइवल नोट’ कवितासंग्रहलाई लोकार्पण गरिएको हो ।
लगनखेलस्थित मानसिक अस्पतालका निर्देशक समेत रहेका डा. अधिकारीको यो पहिलो कवितासंग्रह हो । जसलाई आवरण प्रकाशनले बजारमा ल्याएको हो । सर्वाइवल नोटमा ४३ वटा कविता संग्रहित छन् ।
मनोचिकित्सकबाट आफूलाई कविका रुपमा परिचित गराएका डा. अधिकारीले सर्वाइवल नोट सुसाइड नोटको विपक्षमा लेखिएको कृति भएको बताए । ‘म साहित्यको विद्यार्थी त होइन तर, सानैदेखि मेरो कवि मन थियो जो अहिले निस्कियो,’ लोकार्पण कार्यक्रममा बोल्दै डा. अधिकारीले भने, ‘जीवनमा बाच्न र संघर्ष गर्न सिकाउने कविता लेख्ने रुचि थियो जो अहिले पूरा भएको छ ।’ यदि याे कवितालाई स्वीकार गरोम आगामी दिनमा पनि कविता लेख्न हौसला मिल्नेसमेत उनले बताए ।
कार्यक्रममा संगीतकार एवम् गायक सुरेश अधिकारीले मन्तव्यमार्फत उपस्थितलाई स्वागत गरेका थिए । त्यहीक्रममा उनले सर्वाइवल नोटले बाँच्नुपर्ने कारणहरु सुझाएकोसमेत बताए । ‘सर्वाइवल नोटले बाँच्नुपर्ने कारणहरु बताएको छ,’ उनले भने, ‘यो एउटा जीवनको सन्देश बोकेको कविता हो ।’
अधिकारीकृत सुसाइड नोटको कवि एवम् गीतकार डा. गीता त्रिपाठीले समीक्षा गरेकी थिइन् । कविताले पात्रहरुलाई जीवन्त बनाएको बताइन् । साथै, डा. अनन्त अधिकारी कविको रुपमा आउनु रहर नभएर बाध्यता रहेको कुरा कविताले बताउने उनले बताइन् ।
त्यस्तै, हास्यकलाकार मनोज गजुरेलले शुभकामना दिँदै सर्वाइवल नोट कविता नभएर जीवन बाँच्न सिकाउने औषधिको रुपमा आफूले लिएको बताए । ‘सर्वाइवल नोट एक साहित्यिक कृति मात्र नभएर यसले हौसला, उत्प्रेरित र प्रेरणा भर्छ,’ उनले भने, ‘सुसाइट नोट धेरै पढ्यौँ सर्वाइवल नोट पनि पढ्न पाइयो ।’
साथै, डा. अधिकारीले कविता लेखेको भन्ने सुन्दा अनौठो लागेको समेत बताए । ‘औषधि लेख्ने डाक्टरले कविता लेखेँ भन्दा अनौठो लागेको थियो,’ उनले भने ।
काठमाडौं विश्वविद्यालयका रजिष्टार एवम् पत्रकार अच्युत वाग्लेले आफू डा. अधिकारीमा बाल्यकालदेखि नै कविको रुपमा देखेको बताए । ‘उनी भावनात्मक रुपले निकै संवेदनशील थिए त्यही भएर नै मनोचिकित्सक भए भन्ने लाग्छ । अहिलेको सर्वाइवल नोट पनि त्यसैको देन हो ।’
कविता लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा.डा. अभि सुवेदीले मनोचिकित्सकले कविता लेखेको भन्ने सुन्दा अनौठो लागेको बताए । ‘मनोचिकित्सक कवि बनेको कुरा सुनेपछि अचम्म लागेको थियो,’ उनले भने, ‘मानिसहरू सुसाइड नोट लेखिरहेका छन्, मनोचिकित्सकले सर्वाइबल नोट लेखेको भनेको सुन्दा साँच्चै अनौठो लागेको थियो ।’
लोकार्पण कार्यक्रम आवरण प्रकाशनका सञ्चालक रशेम पौडेलको सभातित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा साहित्यकार हरी अधिकारी, विद्यानिधि शर्मा, कुशादेवी माविका पूर्व प्रधानाध्यापक रामप्रसाद अधिकारी, बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाई, रामहरी सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया