सातामा सेयर बजार : नेप्से दुई हजार अंकमा पुग्दा झण्डै आठ अर्बको कारोबार

लोकपथ
78
Shares

काठमाडौं। लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै उत्साहप्रद हुन सकेन । साताको सुरुवाती कारोबार दिन देखि नै ओरालो लाग्न सुुरु गरेको नेप्से चौंथो दिनसम्म निरन्तर कायम रह्यो । यद्धापी तेस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको भएपनि त्यो बढाई निरन्तर कायम रहन सकेन् । त्यसको भोलिपल्ट नैं अर्थात चौंथौं दिन नेप्से उच्च अंकले घट्यो । यो साता नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको क्याप हट्ने हल्ला चलेको थियो । सोही बिषयमा गर्भनर महाप्रशाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले छलफल समेत गरेका थिए । त्यसकै प्रभावले पनि हुन सक्छ, तेस्रो दिन सेयर बजार दोहारो अंकले बढेको थियो । तर त्यो बढाई अर्कोदिनसम्म टिक्न सकेन । सेयर बजार पुन ओरालो लाग्यो ।

सेयर बजारमा देखिएको यही उतारचढावकोबिच नेप्से यो साता दुई हजार चार दशमलव ३० अंकमा खुम्चिन पुग्यो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८२ दशमलव ९४ अंकमा अंकमा खुम्चिन पुग्यो । सातामा दुुई सय ८६ वटा कम्पनीहरुको दुई लाख ९६ हजार चार सय १४ पटकको कारोबारमा तीन करोड १२ लाख ८५ हजार आठ सय २८ कित्ता शेयर किनबेच भयो । सो अनुसार कुल कारोबार रकम सात अर्ब ८० करोड छ लाख ३७ हजार दुई सय १८ रुपैंयाँ कायम भयो । यो कारोबार रकम गत साताकै बराबरको हो ।

गत साता दुुई सय ७८ वटा कम्पनीहरुको दुई लाख ८४ हजार एक सय ५६ पटकको कारोबारमा दुई करोड ४१ लाख ३४ हजार छ सय २५ कित्ता शेयर किनबेच भएका थिए । उक्त साता कुल सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ रुपैंयाँ ५८ पैसाको सेयर किनबेच भएको थियो ।

नेप्सेको नियमित कारोबार कक्ष यो साता चार कार्य दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र चौंथो दिन लगातार ओरालो लागेको नेप्से तेस्रो दिन भने उकालो लागेको थियो । पाँचौं दिन काठमाडौं उपत्यकाका इन्द्रजात्राका कारण सार्वजनिक बिदा हुँदा नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो । दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा साताको दिन आईतबार १९ दशमलव ४२ अंकले घटेर दुई हजार १० दशमलव ३५ अंकमा खुम्चिएको नेप्से दोस्रो दिन पनि पाँच दशमलव ८९ अंकले घटेर दुई हजार चार दशमलव ४५ बिन्दुुमा सिमित हुन पुग्यो । तेस्रो दिन भने १८ दशमलव ४५ अंकले बढेर दुई हजार २२ दशमलव ९१ अंकमा पुग्न सफल भएको नेप्से चौंथो दिन पुन १८ दशमलव ६० अंकले घटेर दुई हजार चार दशमलव ३० बिन्दुमा खुम्चियो ।

यसैगरी पहिलो दिन तीन दशमलव १० अंकले घटेर तीन सय ८५ दशमलव ६२ अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन पुन एक दशमलव ९४ अंकले घटेर तीन सय ८३ दशमलव ६७ बिन्दुमा खुम्चियो । तेस्रो दिन भने दुई दशमलव ५६ अंकले बढेर तीन सय ८६ दशमलव २४ अंकमा पुग्न सफल भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन तीन दशमलव २९ अंकले घटेर तीन सय ८२ दशमलव ९४ अंकमा खुम्चियो ।

यो साता एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, शिवम सिमेन्ट आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्राली, आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीहरु अगाडि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?