एकीकृत समाजवादीभित्र असन्तुष्टि : के एमालेमा फर्किंदैछन् झलनाथ ? (भिडियोसहित)

लोकपथ
52
Shares

नेकपा एमालेबाट टुक्रिएर नयाँ पार्टी बनेको एकीकृत समाजवादीभित्र दरार देखिन थालेको छ । केन्द्रीय तहका नेताहरुबीच एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्दा एकीकृत समाजवादीभित्रको विवादका बाछिटा सतहमै आउन थालेको हो ।

पछिल्ला केही दिनलाई नियाल्ने हो भने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको टकराव स्पष्टसँग देखिन्छ । एकातिर नेताहरु पुरानो पार्टी एमालेमा समाहित हुँदै गएको अवस्था र अर्कोतिर केन्द्रीय नेतृत्वबीच टकराव देखिनुुले पार्टीको अस्तित्व नै के होला भन्ने शंका उत्पन्न हुन थालेको छ ।

एमालेबाट छुुट्टिएर बनेको नयाँ दल एकीकृत समाजवादीले गत निर्वाचनमा १० सिट जिते पनि राष्ट्रिय पार्टीको मान्यता पाउन नसकेपछि युवा पंक्तिका नेताहरुमा असन्तुष्टी छ ।

जसले पार्टी निर्माणका बेला साथ दिए उनीहरुलाई पार्टीबाट ‘बाइपास’ गर्ने प्रवृत्ति यतिबेला एकीकृत समाजवादी भित्र वितृष्णाको आगो दन्किरहेको बुझ्न धेरै मिहिनेत गर्नु पर्दैन ।

यहीबीचमा पार्टीका शीर्ष नेता खनालले पार्टीका कतिपय निर्णयमा नेतृत्वप्रति आक्रोश व्यक्त गर्दैगर्दा त्यसभित्रको असन्तुष्टि पैदा भइरहेको छ ।

गत भदौ २८ गते विभिन्न जिम्मेवारीसहित अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा खनालको चरम असन्तुष्टी थियो । उनले बाहिरै त्यसलाई कोतपर्वको संज्ञा दिँदै त्यसले पार्टीलाई हित नगर्ने प्रतिक्रियासमेत दिएका थिए । आफूलाई नै थाहा नदिई दिइएको जिम्मेवारीले पार्टीमा नराम्रो असर पार्ने भन्दै नेतृत्वलाई बेलैमा विचार गर्न आग्रह गरेका थिए ।

एमालेबाट छुुट्टिएपछि अस्तित्व जोगाउने खेलमा रहेका अध्यक्ष नेपालले गरेका हरेक निर्णयमा झलनाथ असन्तुष्ट नै थिए । गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा नै असन्तुष्टी जनाएका झलनाथ जब गत निर्वाचनमा इलाम क्षेत्र नं २ बाट पराजित भए तब उनी गठबन्धन र गठबन्धनमा आवद्ध दलप्रति विश्वस्त छैनन् । यता माधव नेपाल भने तत्काल गठबन्धन छोड्न नसकिने बताउँदै आएका छन् । तर, निर्वाचन हारेपछि कांग्रेसप्रति आक्रोशित रहेका झलनाथ शत्रुुपक्ष किटान गरेर अघि बढ्नुुपर्नेमा जोड दिँदै आइरहेका छन् । तर अध्यक्ष नेपाल पार्टी निर्माणको चरणमा रहेका कारण कुनै दलसँग शत्रुवत व्यवहार गर्न नहुने उनको तर्क दिँदै आएका छन् ।

यता पार्टीभित्र चरम असन्तुष्टी रहिरहेका बेला गठन भएको समाजवादी मोर्चाका विषयमा समेत झलनाथ खुलस्त छैनन् । पार्टीको अस्तित्व मेटिँदै गइरहेको बुझेका झलनाथ पहिल्यैबाट एमालेप्रति भने केही लचक देखिन्छन् । कम्युनिष्ट एकताका नाममा आफ्नो वर्ग नछुट्याएका पार्टी ल्याएर सत्ता मात्र टिकाउने खेल माओवादीले गरेको भन्दै अन्य कम्युनिष्ट पार्टीसँग भन्दा पनि एमालेसँग उनी नरम देखिएका हुन् । एमालेबाट ग्रिन सिंग्नल पाएको अवस्थामा उनी केही नरम हुनसक्ने एकीकृत समाजवादी निकट नेताहरु बताउँछन् । तर अहिले एमालेमा फर्किनेबारे आफूृले केही नसोचेको बताउँने झलनाथ पार्टीभित्र नेतृत्वप्रति असन्तुष्ट पक्षहरुको नेतृत्व गरिरहेका छन् ।

अध्यक्ष नेपालले पेलेर गएको अवस्थामा असन्तुष्ट पक्ष देखाएर तर्साउने पक्षमा उनी देखिन्छन् । लामो संसदीय राजनीतिक अभ्यास गरिसकेको झलनाथ संसद बाहिरको राजनीति खल्लो मानिरहेको उनको अभिव्यक्तिले पुष्टि गरिरहेको छ ।

निर्वाचनपछि संसद छिर्ने बाटो बन्द भएसँगै चुप रहेका झलनाथमा पुनः संसद छिर्ने महत्वकांक्षा देखिन थालेको छ । उसो त यतिबेला उनले इलाम क्षेत्र नम्बर २ तर्फ आँखा लगाइरहेको एकीकृत समाजवादीका एक नेता बताउँछन् । इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएसँगै उक्त क्षेत्र यतिबेला खाली छ । त्यसैले गठबन्धन भित्र आफ्नो पक्षमा सहमति जुटाएर इलाम २ बाट निर्वाचन लड्ने रणनीतिमा खनाल देखिन्छन् ।

यदि गठबन्धनले उनलाई स्वीकार गर्ने अवस्था नबनेमा खनालको मन एमालेतर्फ नफर्किएला भन्न सकिन्न । यदि त्यस्तो भएमा एकीकृत समाजवादीमा ठूलो पहिरो जाने संकेत देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?