काठमाडौं । नेकपा एमालेको जारी बागमती प्रदेशको अधिवेशन अन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
असोज ९ गते नै नेतृत्व चयनको तयारी गरेको एमालेले सर्वसम्मतिको प्रयास लम्बिँदा निर्वाचन धकेलिएको हो ।
बागमती प्रदेशको आगामी नेतृत्वका लागि कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलकाबीच प्रतिष्पर्धा हुँदै छ ।
अध्यक्षका लागि निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुंगेलले उम्मेदवारी दिएका थिए । त्यस्तै रामेछापका केशरबहादुर बुढाथोकीले पनि उम्मेदवारी दिएका थिए ।
सानु श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुडाथोकीले बिहीबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन् । प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सर्वसम्मतिको प्रयास विफल भएसँगै निर्वाचनको कार्यतालिका निरन्तर धकेलिँदै गइरहेको छ । बिहान ८ बजेबाट मतदान हुने भनिए पनि अझै शुुरु हुन सकेको छैन । एमालेका एक नेताका अनुसार ११ बजेबाट मतदान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया