दर्शकले भरियो वसन्तपुर, राष्ट्रपतिसहित उच्चअधिकारी जात्रा अवलोकन गर्दै

लोकपथ
112
Shares

काठमाडौं । वशन्तपुर आज इन्द्रजात्रा हेर्ने दर्शकले भरिएको छ । यहाँ मानिसहरूको खचाखच उपस्थिती छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा मनाइँदैछ ।

जात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरेसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गरिबी निवारण तथा सहकारीमन्त्री रन्जिता श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह लगायत उच्च अधिकारी हनुमानढोका पुगिसकेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटकहरु पनि वशन्तपुर पुगेका छन् । केही बेरमा कुमारीको रथारोहन हुनेछ । हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारी लगायतको रथको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा यहाँ हजारौं सर्वसाधारण पनि जात्रा अवलोकन गर्न पुगका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा पनि मनाइँदै आएको छ । विशेषगरी वशन्तपुरमा देखाइने जात्रा विश्वभर चर्चित रहीआएको छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?