साकुरा स्नुकर च्याम्पियनसिप अर्को साता

काठमाडौं । साकुरा स्नुकर हाउसको आयोजनामा सर्वाधिक धनराशिको प्रथम साकुरा स्नुकर ओपन च्याम्पियन अर्को सातादेखि काठमाडौंमा आयोजना हुने भएको छ । 

नेपाल विलियर्डस स्नुकर तथा पुल संघको तत्वाधानमा हुने प्रतियोगिता यही फागुन २९ गतेबाट चैत ७ गतेसम्म हुने स्नुकर संघका अध्यक्ष सरोज कुमार मुल्मीले पत्रकार सम्मेलनमा जानकारी गराए। 

प्रतियोगितामा विभिन्न जिल्लाका पुल हाउस र काठमाडौंका पुलहाउसका गरी १ सय २८ जनाले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता नकआउटका आधारमा हुने खेल बेस्ट अफ फाइभ देखि बेस्ट अफ सेभेनसम्म हुने छ ।

१ सय २८ खेलाडीबाट ८ खेलाडी छनोट हुनेछ । अहिले राष्ट्रिय टिममा रहेका ८ खेलाडीले यो प्रतियोगितामा भाग लिन पाउने छैन । उनीहरुले साकुरा ओपन च्याम्पियनसिपबाट छानिएका ८ खेलाडीसँग लिगका आधारमा प्रतिस्पर्धा गर्नेछ ।

लिगका उत्कृष्ट ८ जनाले राष्ट्रिय टिममा स्थान बनाउने छ । यही प्रतियोगिताबाट उत्कृष्ट हुने २ जनाले आगमी जुन जुलाईमा बंगलादेशमा आयोजना हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ । राष्ट्रिय टिम यसअघिको प्रदर्शनका आधारमा ८ जनाको टिम बनाइएको हो । १६ खेलाडीले प्रतिस्पर्धा गर्ने लिगका खेल चैत १० गते हुनेछ । 

प्रतियोगिताको विजेताले १ लाख १० हजार रूपैया हात पार्नेछन् । दोस्रो हुनेले ४० हजार रूपैया पाउने छ । तेस्रो हुने दुई जनाले सियुई र सियुई ब्यागसहित मेडल हात पार्नेछ । अनुशाषित हुनेले सियुई र सियुई ब्याग, सर्वाधिक ब्रेकले सियुई र सियुई ब्याग र नवौंदेखि १६ औँ सम्मले सियुई र सियुई ब्याग हात पार्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?