काठमाडौं । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा छातीको एक्सरे गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो नियमित चेकजाँचका लागि अस्पताल पुगेकी टोखा नगरपालिका–३ निवासी भवानी कार्कीको एक्स–रे कक्षका कर्मचारीको लापरवाहीका कारण मृत्यु भएको परिवारको आरोप छ ।
कार्की लामो समयदेखि मोटोर न्यूरोन डिजिज (एमएनडी) बाट ग्रसित थिइन् । उनलाई नियमित चेकजाँचका लागि परिवारले सोमबार बिहान अस्पताल लगेका थिए । उनलाई अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. विष्णु पहरीको टोलीले चेकजाँच गरेका थिए । शरीरमा सोडियमको मात्रा घट्दै गएपछि उनलाई अस्पतालमा आज नै भर्ना गरिएको थियो ।
यहीक्रममा चिकित्सकले उनको छातीको एक्स–रे गर्न सिफारिस गरेका थिए । सोही अनुसार उनलाई एक्सरे कक्षमा लगिएको थियो । एक्सरे गर्ने क्रममा कर्मचारीहरुका लापरवाहीका कारण राम्रोसँग केयर नगर्दा टाउको झड्कालिएर बिरामीको निधन भएको मृतकका छोरा आशिष कार्कीको आरोप रहेको छ । ‘मेरो आमा लामो समयदेखि एमएनडीबाट ग्रसित भएको कुरा साँचो हो उहाँको गर्धनको मांसापेसी पूर्ण रुपमा कमजोर भइसकेको थियो त्यो अवस्थामा उहाँले टाउको ठड्याउन सक्नुहुन्न थियो,’ उनले भने, ‘त्यही क्रममा ममीको टाउको एक्कासी झड्काल्लियो र, उहाँको निधन भयो । यसमा एक्सरे कक्षका कर्मचारीहरुको सरासर गल्ती छ ।’
कार्कीको एमएनडीका कारण गर्धनको मांसापेशी पूर्ण रुपमा कमजोर भइसकेको थियो । जसकारण उनलाई टाउको अड्याउन कठिन थियो । एक्सरे रुमका कर्मचारीको लापरवाहीका कारण कार्कीको निधन भएको कार्कीकी छोरी आराधना कार्की बताउँछिन् । लोकपथसँग कुराकानी गर्ने क्रममा उनले भनिन्, ‘मेरो आमा अस्पतालसम्म सकुशल आउनुभएको थियो तर, अस्पतालको हेलचेक्राइँका कारण हामीले आमा गुमायौँ ।’
कार्कीका आफन्तहरुले अस्पतालका कर्मचारीहरुको लापरवाही भएको भन्दै कर्मचारीहरुलाई कारवाही गर्न माग गरेका छन् ।
यता अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छे भने अस्पतालको लापरवाही नभएको दाबी गर्छन् । ‘उहाँको सोडियम लेभल एकदमै कम भएको थियो,’ उनले भने, ‘सोडियम लेभल नियमित घट्दै गएपछि उहाँमा इपिलेप्सी सिजर आयो र उहाँको निधन भयो ।’
उनले यो कुरा मृतकका आफन्तसँगको छलफलका क्रममा पनि सुनाएका थिए । डा. विजुक्छेले परिवार तथा आफन्तसँगको छलफलका क्रममा यदि कर्मचारीको तर्फबाट गल्ती कमजोरी भएको भएमा आफू जेल जान समेत तयार रहेको बताए ।
जसका लागि मृत शरीरको सिटी स्क्यान गरेर हेर्नका लागि उनले मृतकका आफन्तसामू प्रस्ताव राखेका थिए । ‘मृत शरीरको सिटी स्क्यान गरेर हेरौँ,’ उनले छलफलका क्रममा भनेका थिए, ‘यदि हाम्रा कर्मचारीहरुको कमजोरीका कारण उहाँको निधन भएको केही कारण देखियो भने म जेल जान तयार छु ।’ यद्यपि, परिवार तथा आफन्तहरुले भने कार्कीको मृत शरीर सिटी स्क्यान गर्न अस्वीकार गरेका थिए ।
भिडियाे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया