काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको सडक व्यापारी हटाउने कदमविरुद्ध आन्दोलन गरिरहेका अभियन्ता ईः ले मेयरले आफूहरुलाई वार्तामा नबोलाएको प्रष्ट पारेका छन् ।
केहीबेरअघि मेयर बालेनले सामाजिक सञ्जालमा आफूले आफैँ भेटेर अभियन्ता ईः लगायतलाई भेटेर वार्ताका लागि बोलाउँदा उनीहरु नआएको प्रतिक्रिया दिएका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै फर्काउँदै अभियन्ता ईः ले मेयर नआएको बरु एक नगरप्रहरी आएर सभागृहको पार्किङमा बोलाएर वार्तामा आउन आग्रह गरेको तर आफूहरुले अन्य विज्ञबिना वार्तामा नआउने बताएसँगै ती प्रहरी अधिकारीले रिसाएर मेयर नआउने भन्दै खरो जवाफ दिएको बताए ।
‘मेयर यहाँ आउनुभएको होइन। सँगै जवाफदेहिता माग गरिरहेका अन्य साथीहरू साक्षी छन्। करीब २० मिनेट अगाडि अकस्मात एक नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए। हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए – “त्यसोभए मेयरले भेट्दैन!’’ उनले भनेका छन् ।
केहीबेरअघि मेयर बालेनले भनेका सामाजिक सञ्जालमा लेखेका थिए, ‘बिगत केही दिन देखि केही अभियानताहरु आन्दोलनमा हुनु हुन्थ्यो , उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफै गएर बार्ता गरौं यहाहरुको कुरा र समस्या सुनौं भन्दा अभियानताहरु संवादमा बोलाउदा आउन खोज्नु भएन । लोकतान्त्रिक अभ्यासमा सबै कुरा समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेको छौ , सयाद कुनै राजनितिकी स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ । के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया