काठमाडौं । नुवाकोट ढिकुरेका गायक ढकालको मृत्यु प्रकरण रहस्यमयी बनेको छ । गत असोज १ गते राति नयाँ बसपार्कस्थित लर्डबुद्ध होटलमा बसेका ढकालको मृत्यु रहस्यमयी बन्दै गएको हो ।
नुवाकोट लिखु गाउँपालिका वडा नं २ का ढकाल पृथ्वी राजमार्ग माइक्रोबसका कर्मचारी एवं काठमाडौंका इन्चार्ज रहेका थिए । होटलको चौथो तलामा बसेका ढकालको मृत शरीर सोही होटल अगाडी सडकमा फालिएको अवस्थामा फेला परेको थियो ।
होटल सञ्चालक लगायत अन्य व्यक्तिले खबर गरेसँगै नयाँबसपार्कको प्रहरी टोली घटनास्थल पुगेको थियो । साथै, घटनापछि मृतक ढकालका परिवारले सत्यतथ्य छानविन गरी दोषीलाई कारवाही गरीपाउँ भनि नयाँ बसपार्क प्रहरीमा निवेदन दिएका थिए । यसैगरी, परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा समेत जाहेरी दिएका थिए ।
प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएसपी अमरबहादुर थापा र प्रहरी निरीक्षक राजन ढकालको रोहबरमा जाहेरी दर्ता भएसँगै प्रहरीले छिटो दोषी पत्ता लगाइ कारबाही गर्ने बचन दिएको थियो । सोही आधारमा परिवारले ढकालको शव उठाइ दाहसंस्कार गरेको थियो ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले होटल सञ्चालकलाई पक्राउ गरी सामान्य सोधपुछ गरेर छाडिदिएको छ । यता परिवारका सदस्यहरुले भने होटल सञ्चालकमाथि नै शंका गरिरहेका छन् । उनीमाथि विशेष अनुसन्धान गर्न भन्दै ढकालका परिवार तथा आफन्तले महाराजगञ्ज प्रहरीमा किटानी जाहेरी दिँदा प्रहरीले भने आलटाल गरेको मृतकका भाई प्रकाश ढकालले लोकपथलाई जानकारी दिए ।
‘हामीले पटकपटक किटानी जाहेरी दिन आइरहेका छौँ । तर उहाँहरु कुनै आधार छैन भन्दै हामीलाई फर्काइरहनुुभएको छ,’ उनले भने, ‘अहिलेसम्म कुनै अनुसन्धान अघि बढेको छैन । अहिलेसम्म पक्राउ गरिएका मान्छेहरुलाई पनि उहाँहरुले बिना सोधपुछ छोडिरहनुभएको छ । अनि पीडित पक्षले कसरी न्याय पाइन्छ ?’
यता महाराजगञ्जका डिएसपी अम्बरबहादुर थापा भने अनुसन्धान भइरहेको टालटुले जवाफ दिन्छन् । घटनामा दोषी देखिएका र परिवारले शंका गरेका व्यक्तिहरुमाथि निगरानी गरी अनुसन्धान गरिरहेको थापाले बताए । जाहेरी लिन चाँही किन नमानेको भन्ने प्रश्नमा उनी भन्छन्, ‘किटानी जाहेरी लिने कुनै आधार नै छैन । हामी अनुसन्धान गरिरहेका छौँ ।’
लोकपथसँगको कुराकानीको क्रममा पनि डिएसपी थापाले अनुसन्धान भइरहेको र पीडित पक्षलाई आश्वस्त पार्ने उत्तर दिएनन् । अहिलेसम्म के के अनुसन्धान भयो भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ । तर दोषी कहिले पत्ता लाग्छ भन्न सकिन्न ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया