असोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षा

लोकपथ
147
Shares

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स २०२३) को आयोजना हुने भएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोको तयारी तिब्र पारिएको जानकारी दिएको हो ।

“के हामी आत्मनिर्भर छौं ?” भन्ने मुख्य थिम सहित आयोजना हुने एक्स्पोको असोज १० गते दिउँसो १ बजे उद्योग वाणिज्य तथा अपुर्तीमन्त्री रमेश रिजालले उद्घाटन गर्नेछन् ।

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म तदनुसार सेप्टेम्बर २७ देखि अक्टूबर १ सम्म ५ दिन एक्स्पो आयोजना हुने जानकारी दिएको हो । यस अघि नै आयोजकले फर्नेक्सको इभेण्ट लञ्च गरी बोलकबोलमा अधिकांश स्टल बुकिङ गराएको थियो । पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा स्टल बुकिङ खुल्ला गरिएकोमा एकाध बाहेकका सबै स्टल बुकिङ भईसकेको एशोसिएशनले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्यका साथ एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए । “आर्थिक गतिविधिहरु सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक कृयाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौं,” अध्यक्ष अग्रवालले भने । उनका अनुसार एक्स्पोमा प्रवेश निशुल्क गरिएको छ ।

मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन संघले पहलकदमी लिँदै आएको एक्स्पोका संयोजक निकुञ्ज अग्रवालले बताए । हरेक वर्ष आयोजना भइरहेको फर्नेक्सले यो अभियानलाई सहयोग गरिरहेको भए पनि पछिल्ला दिनमा सरकारले गरेको नयाँ व्यवस्थाका कारण स्वदेशी उत्पादनको बजार बिस्तार चुनौतीपूर्ण भएको अग्रवालको भनाई छ ।

एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहने एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ ।

एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डहरुलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्ने एशोसिएशनका महासचिव सञ्जय लामाले बताए ।

नेपाली तथा अन्तर्राष्ट्रिय बजारमा मेड इन नेपाल फर्निचरको बजारीकरण गरी व्यापार बढाउन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा सहकार्य गरी बी टु बी सेवा प्रदान गर्नु एक्स्पोको लक्ष्य रहेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा नयाँ अवधारणा र डिजाइनहरूको प्रचार तथा प्रवद्र्धनको अवर पाउने अपेक्षा पनि आयोजकको छ । एक्स्पो स्थलमा सामान खरिद गर्नका लागि खुल्ला बजार पनि सञ्चालन हुनेछ । फर्निचर तथा फिर्निसिङ क्षेत्रमा आबद्ध उद्योगी, व्यवसायीहरुलाई समेटेर बृहत र भव्य रुपमा आयोजना हुन लागेको एक्स्पोलाई किङ कोयल ले शीर्ष प्रायोजन गरेको छ । त्यसै गरी एक्स्पोको इन एशोसिएशन विथमा प्रेष्टिज कार्पेट रहेको छ भने पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ ।

नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले इन्डोर्स गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज र यती पोलिकेम रहेका छन् । इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।

५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त ब्रान्डहरुको सहभागिता रहने जानकारी दिइयो ।
साथै एक्स्पोमा सहभागि हुने व्यवसायीहरुले आफ्नो ब्रान्ड, उत्पादन तथा सेवाको प्रचारप्रसार गर्ने अवसर पाउने छन् भने सम्भावित ग्राहकसँगको साक्षात्कार र भविष्यमा सहकार्य तथा व्यापार विस्तारका लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुसँग भेटवार्ता गर्ने अवसर पाउने छन् ।

फर्निचर तथा फर्निसिङ क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि सन् २०१२ देखि आयोजना हुन थालेको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल) लोकप्रिय ब्राण्डको रुपमा स्थापित भइसकेको महासचिव सञ्जय लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?