नर्मदेश्वरी सत्यालको ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य र ‘गुराँसझैँ’ बालकवितासंग्रह तथा जयन्तीको बालकवितासंग्रह ‘खेलौँ रमेर’ लोकार्पण

लोकपथ
196
Shares

काठमाडाैं । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालका ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य र ‘गुराँसझैँ’ बालकवितासङ्ग्रह तथा जयन्ती स्पन्दनको बालकवितासङ्ग्रह ‘खेलौँ रमेर’को लोकार्पण तथा परिचर्चासहित डा.मदनप्रसाद सत्यालको हीरक जयन्ती मनाइइको छ । बुधबार दिउँसो तिनकुनेस्थित सिद्धार्थ कटेजमा नर्मदेश्वरीद्वारा लिखित यात्राकाव्य ‘प्रभातमय जिन्दगी’ र ‘गुराँसझैँ’ बालकवितासङ्ग्रह र उनकी छोरी जयन्ती स्पन्दनद्वारा लिखित ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहको लोकार्पण गरिएको हो ।

साथै, डा.मदनप्रसाद सत्यालको हीरक जयन्ती समेत मनाइएको थियो । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा एमाले संस्कृति विभाग प्रमुख रघुजी पन्त उपस्थित रहेको थियो ।

यसैगरी, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी, नर्मदेश्वरी सत्यालकी आमा खेमकुमारी घिमिरे, डा.मदनप्रसाद सत्याल र प्रनिसा रेग्मी (तीन पुस्ता) विशेष अतिथिका रूपमा रहेका थिए ।

प्रा.डा.जीवेन्द्र देव गिरी, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’, प्रा.डा.हेमनाथ पौडेल, वासुदेव अधिकारी, विधान आचार्य, भाषा आयोगका सदस्य मातृका पोखरेल, लक्ष्मी माली, यद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, स्नेह सायमी, डम्बर पहाडी, अनिल पौडेल, सीता शर्मा, सुशिला प्रधानाङ्ग, डा.सावित्री श्रेष्ठ, लक्ष्मी मिश्र, प्रतिभा पुन, नन्दु उप्रेती, खेमराज निरौला, डा.गोविन्दप्रसाद आचार्य, राममणि ढुङ्गेल, प्रशान्त खरेल, निलम कार्की निहारिका, डा.नारायणप्रसाद रेग्मी, डा.प्रदीप के.सी., डा.जया सत्याल, विजया सत्याल, यादव भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा डा.जया सत्यालले बुबाआमाको त्याग र बलिदानले हामीले गरिखानसक्ने शिक्षा प्राप्त गर्न सकेको बताइन् । ‘आज बुबाको ७६ जन्मजयन्ती मनाउन पाउने यो सुअवसर आफैँमा उदाहरणीय थियो नै त्यसमा पनि आमा र दिदीका तीन तीनओटा कृतिको लोकार्पण तथा परिचर्चा पनि यही सुअवसरमा हुनु अत्यन्त सुखद पक्ष हो,’ उनले भनिन् ।

प्रमुख अतिथि, विशेष अतिथि र लेखकद्वयले संयुक्तरूपमा ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य, ‘गुराँसझैँ’ र ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहको लोकार्पण गरेका थिए । लोकार्पित ‘गुराँसझैँ’ र ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहको प्रा.डा.लेखप्रसाद निरौलाले समीक्षा गरेका थिए ।

जयन्ती स्पन्दनको ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहमा अत्यन्त सहज बालअनुभूति समेटिएको उनले बताए । यो संग्रहमा २० वटा बालकविता समेटिएका छन् । लोकलयका यी कवितामा ‘र’ वर्णको पुनरावृत्तिका माध्यमबाट प्रसाद गुण सिर्जना गरिएको छ । कविताका शीर्षकैले आकर्षण पैदा गरेका छन् । सबै कविताका विषय र शीर्षक बालमैत्री रहेको समिक्षक निरौलाले बताए ।

कवितामा नैतिक सन्देश, देशभक्ति, पुस्ता जोड्ने कुरा, किसानलाई माया गर्नुपर्ने, श्रमको सम्मान गर्नुपर्ने कुरा समेटिएका छन् । अनुप्रासीय गुण सबै कवितामा पाइने उनले सुनाए । ‘अन्धविश्वास हटाउने संवादात्मक शैलीको प्रयोग पनि गरिएको छ । कवितामा वनस्पति र जीवजन्तुको प्रयोगले बालकको आकर्षण पैदा गराउने देखिन्छ । कवितामा बनाइएका चित्र पनि आकर्षक रहेका छन् । समग्रमा सङ्ग्रह पठनीय र बालमैत्री रहेको छ,’ उनले बताए ।

त्यसैगरी नर्मदेश्वरी सत्यालद्वारा लिखित ‘गुराँसझैँ’ बालकवितासङ्ग्रहको शीर्षक नै विम्बात्मक रहेको उनले सुनाए छ । ‘यस संग्रहमा पनि बिसओटै बालकविता रहेका छन् । यसमा लोकलयको आधिक्य रहेको छ, त्यसमा पनि सवाइको प्रयोग बढी छ । कवितामा अग्रज साहित्यकार केवलपुरे किसानलाई दृष्टान्त बनाइएको छ । देश र प्राकृतिक सम्पदालाई चिनाउने प्रयत्न कवितामा गरिएको छ,’ समिक्षक निरौलाले भने ।

विशेष अतिथि प्रनिसा रेग्मीले ‘खेलौँ रमेर’ बालकवितासङ्ग्रहबाट कविता वाचन गरृकी थिइन् । भने डा.जया सत्यालले ‘गुराँसझैँ’ कवितासंग्रहबाट ‘धर्मका नाममा’ कविता वाचन गरेकी थिइन् ।

विशेष अतिथि प्रेमनाथ अधिकारीले डा. मदनप्रसाद सत्याललाई नमुना अभिभावक रहेको भन्दै प्रशंसा गरे । ‘उहाँहरूको सिङ्गो परिवार उदाहरणीय रहेछ र सबै छोराछोरीले समाजमा विशिष्ट योगदान गरिरहनुभएको रहेछ,’ उनले भने, ‘हीरक जयन्तीको सन्दर्भ पारेर आयोजना गरिएको यो विशेष साहित्यिक समारोहले पनि मुलुकको समृद्धिका पक्षमा र समाजमा चेतना फैलाउने कर्ममा साहित्यकारहरू लागिरहनुपर्छ भन्ने नै सन्देश दिएको छ ।’

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रघुजी पन्तले हाम्रो जीवन, संस्कृति, परम्परा परिवर्तनशील हुन्छ र हुनुपर्ने धारणा राखे । ‘हाम्रो जीवनलाई प्रभावित पार्ने काम संस्कृतिले गर्छ । प्रविधिका कारणले अहिले पठनसंस्कृति कमजोर भएको छ,’ उनले भने, ‘आजको पुस्ता पुरानो पुस्ताबाट सिक्नखोज्दैन ! घरमा पारिवारिक संवाद नै हुनछाडेको छ । अर्थात् क्रमशः जीवन नीरस बन्दै गइरहेको छ । साहित्यलाई जीवनसँग जोड्ने भनेको बालसाहित्यले नै हो । साहित्य, गीत, सङ्गीतको आकर्षण वैज्ञानिकहरूमा समेत छ । हामीले हाम्रा बालबालिकालाई सानैदेखि मानवीय बनाउने काम गर्नुपर्छ र त्यो काम बालसाहित्यले गर्छ ।’

कार्यक्रमका अध्यक्ष राम विनयले डा. सत्यालको हिरक जयन्तीको अवसरमा तीनओटा कृतिको लोकार्पण तथा परिचर्चा जस्तो उदाहरणीय सत्कर्म भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?