द्रुत बस सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

लोकपथ
21
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा अन्य क्षेत्रमा पनि विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री ज्वालाले सूर्यविनायकबाट अगाडि बनेपा–धुलिखेलसम्म नै दु्रत बस सेवा विस्तार गर्ने प्रतिबद्धता गरेका छन् ।

उनले भने, ‘सूर्यविनायकदेखि अगाडि पनि विस्तार गर्दैै जान्छौं । बनेपा–धुलिखेलसम्म पनि यसलाई विस्तार गर्ने छौं ।’

मन्त्री ज्वालाले यातायात क्षेत्रमा सुशासन कायम गर्न अनलाइन प्रणालीबाट सेवा सुरुवातको थालनी गण्डकी प्रदेशबाट गरेको उल्लेख गर्दै त्यसलाई यही असोज १५ गतेभित्र बागमतीमा विस्तार गर्नेसमेत बताए ।

‘अब दोस्रो पटक केही दिन १५ गते भित्र नै यो बागमती प्रदेशमा पनि अनलाइन सेवा सुरु गर्दैछौं । र यो महिनाभरी कमसेकम देशभरी अनलाइन सिस्टम सुरु गर्ने  अनलाइन पेमेन्ट प्रारम्भ गर्ने गरी अगाडि बढाउने गरी हामी काम गरिरहेका छौं,’ मन्त्री ज्वालाले भने ।

मन्त्री ज्वालाले आजदेखि ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

बुधबार द्रुत सार्वजनिक बस सेवाको उद्घाटन गर्दै उनले हाल सूर्यविनायकदेखि रत्नपार्क पुग्न ४५ मिनेट लाग्ने उल्लेख गर्दै त्यसलाई थप सुधार र व्यवस्थित गरी आधा घण्टामै सूर्यविनायकदेखि रत्नपार्क पुग्ने व्यवस्था गर्ने बताए ।

यातायात व्यवस्था विभागले द्रुत सेवाअन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने जानकारी गराएको छ । त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ । यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?