काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य एवं २३ औं प्रकाश मानव अधिकार पुरस्कार २०७४ बाट सम्मानित व्यक्तित्व डा. गौरीशंकर लाल दासको शताब्दी जन्मोत्सवका अवसरमा वि सं २०८०–८१ सालमा वर्षभरि नै विभिन्न कार्यक्रमहरू गरिने भएको छ ।
२०८० भदौ ३१ गते काठमाडौँमा आयोजित नागरिक समाजका अगुवाहरूको भेलाले डा. दासको सम्मानमा कार्यक्रम गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायको संयोजकत्वमा २०८० भदौ ३१ गते ३५ जना सदस्य रहेको “मानव अधिकार शताब्दी व्यक्तित्व डा. गौरीशंकर लाल दास शताब्दी जन्मोत्सव समारोह समिति” गठन गरेको छ ।
समितिको सदस्यहरूमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्यहरू सुशील प्याकुरेल, कपिल श्रेष्ठ, डा. रामदयाल राकेश, डा. केबी रोकाया, गौरी प्रधान, इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेल, गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष भावना भट्ट, जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाईं, इन्सेकका अध्यक्ष डा. कुन्दन अर्याल, नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल, एम्नेष्टी नेपालका अध्यक्ष विपिन बुढाथोकी, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्रप्रसाद तिमिल्सिना, मानव अधिकार एलाइन्सका महासचिव विदुर सुवेदी, राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष छत्र प्रधान, मानव अधिकार महाभेलाका संयोजक मञ्जु गुरुङ, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेल लगायत प्रशासन, स्वास्थ्य, परोपकार लगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएका प्रतिष्ठित व्यक्तिहरू रहेका छन् ।
समितिले मानव अधिकार शताब्दी व्यक्तित्व डा. दासको सम्मानमा वर्षभरि विभिन्न कार्यक्रमहरू आयोजना गर्नेछ । भेलाले कार्यक्रम गर्नका लागि गठित समितिको सचिवालय इन्सेक केन्द्रीय कार्यालयमा राख्ने निर्णय समेत गरेको छ ।
१९८१ साल असोज ९ गते सिरहा जिल्लामा जन्मिएर चिकित्सा सेवा, मानवअधिकार र समाजसेवाका क्षेत्रमा मुलुकलाई महत्वपूर्ण योगदान दिएका डा.गौरीशंकर लाल दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया