नेकपा सचिवालय बैठकको निर्णय : भरतमोहन र रवीन्द्र अधिकारीको श्रद्धाञ्जलीसभा संयुक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दिवंगत नेता भरतमोहन अधिकारी र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलीसभा संयुक्त रुपमा गर्ने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान ९ बजे बसेको नेकपा सचिवालय बैठकले यही फागुन २३ गते दिवंगत पर्यटनमन्त्री अधिकारी र नेकपा नेता भरतमोहन अधिकारीको श्रद्धाञ्जलीसभा संयुक्त रुपमा गर्ने निर्णय गरेको हो । 

भरतमोहन अधिकारीको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालय धुम्बाराहीमा शोक पुस्तिका राख्ने निर्णय समेत भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको शानिवा राति ८२ वर्षको उमेरमा ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो भने गत बुधवार (फागुन १५ गते) ताप्लेजुङमा हेलिकप्टर दुर्घटना हुदाँ पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो । 

नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । 

अर्थमन्त्री रहँदा वृद्धभत्ता र आफ्नो गाउँ आफैँ बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याएका नेता अधिकारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?