डा. ओममूर्तिले ‘जीवन्त सम्बन्ध’ पुस्तक ल्याउँदै, बिक्रीबाट आउने रकम असहाय वृद्धवृद्धालाई

लोकपथ
104
Shares

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तककाे कभर सार्वजनिक भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै  डा. ओममूर्ति अनिलसहित उनकी श्रीमती मनिषा, छोरी अनिशाले संयुक्त रूपमा पुस्तककाे कभर सार्वजनिक गरेका हुन् ।

जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको डा. अनिलले बताएका छन् । पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । त्यस्तै व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ । पुस्तकले सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिनेछ ।

२४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ । पुस्तक प्रकाशनको मुल उद्देश्य पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने फाउन्डेसनले जनाएको छ ।

पुस्तक असोज ५ गते शुक्रबार तीनबजे सार्वजनिक हुँदैछ । त्यही साँझबाट बजारमा आउने यस पुस्तक भदौ २९ गते शुक्रबारदेखि पुस्तककोे अनलाइन बुकिङ भने खुल्ला भएको छ । दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमार्फत् अनलाइन बुकिङ गर्न सकिनेछ ।

पुस्तकको काठमाडौं उपत्यकाभित्र निःशुल्क होम डेलिभरी हुनेछ । देशभरका पुस्तक पसल तथा उपत्यकाबाहिर समिक्षा पब्लिकेसनले वितरण गर्नेछ । यो पुस्तक विभिन्न सुपर स्टोर एवम् कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?