वामदेव गौतमले भने, ‘मेरोविरुद्ध फेरी कुप्रचार शुरु भयो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सचिवालयका सदस्य वामदेव गौतमले आफूविरुद्ध फेरि गलत प्रचार हुन थालेको बताएका छन् । 

गत बुधवार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने तयारी गरेको भन्दै आफूविरुद्ध गलत प्रचार शुरु भएको गौतमको गुनासो छ । 

‘फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो । नेपाली राजनितिक आकासमा उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनबाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ’ शनिवार प्रेस नोट जारी गर्दै गौतमले भनेका छन्, ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मात्र हो ।’

मृत्युको शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा नहुने बताउँदै उनले भने, ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिइन र यसलाई जीवनभर दिने पनि छैन ।’

उनले भने आफ्नो इच्छाविपरित पार्टीले निर्णय गरेपनि रवीन्द्रको निर्वाचन क्षेत्रमा आफू उम्मेदवार नबन्ने बताए । 

‘दुःखद निधनबाट खालि भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्दिना, उनले भने ‘मेरो सम्पूर्ण प्रयत्न स्व रवीन्द्रको परिवार सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?