राजनीतिमा अभाव खड्काएर अस्ताए सुवास

लोकपथ
28
Shares

काठमाडौं । नेपाली राजनीतिमा अमिट छाप छोडेर संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ धर्तीबाट बिदा भएका छन् ।

पूर्व समाभुख समेत रहेका सांसद नेम्वाङको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

मंगलबार हृदयघातका कारण निधन भएका नेम्वाङको राजकीय सम्मानका साथ बिदाई गरिएको हो । सक्रिय रहँदैका बखत अप्रत्यासित रुपमा उनको निधनले नेपाली राजनीतिवृत्त शोकमय बन्यो । नेपालको संविधान जारी गर्नका लागि सभामुखको रुपमा उनले खेलेको भूमिका होस् या राजनीति संक्रमणका बेला उनले खेलेको समन्वयकारी भूमिकाको चर्चा हुने गर्दछ । मृदुुभाषी नेम्वाङ एमालेका लागि मात्र होइन सबैका लागि प्रीय थिए । कानुनका ज्ञाता नेम्वाङ कुनै नेतालाई कानुनी जटिलता पर्दा सहयोग माग्ने आधार बन्ने गरेको प्रतिक्रिया नेताहरुले दिने गरेका छन् ।

जीवनमा विभिन्न अनुभव बटुलेका नेम्वाङले केही समय अध्यापन समेत गरेका थिए ।२०४८ सालमा राष्ट्रिय सभा सदस्य बन्दै संसदीय राजनीतिमा होमिएका नेम्वाङ २०५६ सालबाट निरन्तर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै आइरहेका छन् ।
आफ्नो गृह जिल्ला इलाम क्षेत्र नं २ बाट निरन्तर निर्वाचित हुँदै आइरहेका उनी हाल नेकपा एमाले संसदीय दलका उपनेता रहेका थिए ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका थिए ।

विसं २०३३ मा राजद्रोह मुद्दामा उहाँ केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२÷६३ सँगै पुनःस्थापित संसद्का सभामुख भएका थिए । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उनले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । उनी चारपटक सभामुख हुँदा सधैँ सर्वसम्मत नै बने ।

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।

गत फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए । राजनीतिमा विभिन्न सम्भावना हुँदाहुँदै पनि असामयीक निधनले एमालेजनमा मात्र होइन समग्र राजनीतिमा नै अमिट छाप छाडेका नेम्वाङको अभाव खड्किरहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?