काठमाडौं । नेकपा एमालेले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनप्रति दुख व्यक्त गर्दै असोज २ गते केन्द्र र प्रदेशमा शोक सभा गर्ने भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा आजदेखि तीन दिन शोक पुस्तिका राख्ने, पार्टीको आधा झण्डा झुकाउने निर्णय भएको छ ।
त्यसैगरी आजदेखि तीन दिनसम्म पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्ने निर्णयसम्म भएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।
नेता नेम्वाङको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।
गएराति हृदयघातका कारण नेम्वाङको निधन भएको हो । राति बालुवाटारस्थित निवासको बाथरुममा लडेको अवस्थामा भेटिएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । अस्पतालले मृत घोषणा गरेसँगै श्रद्धाञ्जलीका लागि अस्पतालमै नेता कार्यकर्ता तथा सर्वसाधारणको समेत भीड लागेको थियो ।
उनका छोराहरु बेलायत र अष्ट्रेलियाबाट आउँदै भएकाले आज र भोलि पार्टी कार्यालय च्यासलमा राखिन लागिएको हो ।
अहिले पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि नेता कार्यकर्ता तथा सर्वसाधारणको भीड लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया