सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका कर्मचारी आन्दोलित

लोकपथ
28
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज सोमबार पनि भन्सार जाँचपास सेवा बन्द गरेका छन् ।

गत २ साउनमा ब्रेक शुमा लुकाएर ल्याइएको ६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सुन तस्करी अनुसन्धानको नाममा बिना कारण प्रहरीले आफूहरुमाथि विभिन्न निकायहरुबाट अनावश्यक दु:ख दिने गरेको भन्सार कर्मचारीहरुको भनाइ छ ।

कर्मचारीहरुले हिजै ५ बुँदे माग राखेर आन्दोलनका कार्याक्रम घोषणा गरेका थिए । उनीहरुले हिजो सांकेतिक विरोधस्वरूप ३ घण्टा पेन डाउन गरेका थिए भने आजबाट  विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प पारेका हुन् ।

यसअघि काम गर्ने वातावरण नभएको भन्दै भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले हिजोदेखि आन्दोलन थालेका हुन् ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरेको छ ।

सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३०  पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?