धरानका मेयरलाई प्रश्न सोध्दा एक युवक पक्राउ, एक दिन हिरासतमा राखेर छाडियो

लोकपथ
49
Shares

विराटनगर । धरान उपमहानगरपालिकाका मेयरलाई प्रश्न सोध्दा एक युवक पक्राउ परेका छन् ।

सार्वजनिक कार्यक्रममा मेयर साम्पाङलाई प्रश्न गर्ने धरान उपमहानगरपालिका-१५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई एक रात हिरासतमा राखेर छाडेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले मेयरलाई दुर्व्यवहार गरेको सूचना आएपछि लिम्बूलाई नियन्त्रणमा लिएको बताए । तर मुद्दा चलाउनुपर्ने कारण नभएकाले उनलाई छाडिएको उनको भनाइ छ ।

शुक्रबार अपराह्न उनी धरान उपमहानगरपालिका-१५ मा पुगेका थिए । उनले हाते माइक लिएर सम्बोधन गर्दै स्थानीय वासिन्दालाई सरसफाइमा ध्यान दिन आग्रह गर्दै थिए ।

त्यसै क्रममा स्थानीय अशोक लिम्बूले सरी है भन्दै साम्पाङलाई प्रश्न गरेका थिए, ‘तपाईंहरुले पानी त हेर्न सक्नुभएको छैन दाइ, बाटोमा पानी बगिरहेको छ ।’

तर मेयर साम्पाङले उनलाई चुप लाग, तिमी विरोध गर्न आएको हो भन्दै हप्काएका थिए । त्यसपछि युवक लिम्बूले बोल्न पाइँदैन भन्दै प्रतिवाद समेत गरेका थिए ।

कार्यक्रमपछि मेयरले नै आग्रह गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । मेयर साम्पाङले सामाजिक सञ्जाल मार्फत बदमासलाई प्रहरीको जिम्मा लगाएको बताएका छन् ।

मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागु औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?