काठमाडौं । राष्ट्रिय सभाका सभामुख गणेशप्रसाद तिमिल्सिनाले हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको अकल्पनीय तथा दुःखद निधनले आफूलाई अत्यत्नै मर्माहत बनाएको बताएका छन् ।
उनले भनेका छन्, ‘ताप्लेजुङ्गको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारीसहित सात जनाको अकल्पनीय तथा दुःखद निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ ।’ बिहीवार बिहान जारी शोक वक्तव्यमा लेखिएको छ ।
बिहीवार बिहान शोक वक्तव्य जारी गर्दै सभामुख तिमिल्सिनाले दुःखको यस घडीमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, सफल पर्यटन उद्यमी तथा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, हेलिकोप्टर पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षागार्ड नेपाली सेनाका जमदार अर्जुन घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकूल परिवारजन तथा सबैमा गहिरो समवेदना व्यक्त गरेको छन् ।
‘मन्त्री अधिकारी एक कुशल नेता हुनुहुन्थ्यो । इमान्दार जनप्रतिनिधि हुनुहुन्थ्यो । राष्ट्रले भरोसा गर्न सक्ने क्षमतावान व्यक्ति हुनुहुन्थ्यो । उहाँको दुःखद निधनबाट राष्ट्रले राज्यको नेतृत्व गर्न सक्ने सम्भावनायुक्त नेता गुमाएको छ,’ शोक वक्तव्यमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रतिभावान जनप्रिय नेता गुमाएको छ, सरकारले सम्भावनालाई यथार्थमा बदल्न सक्ने सक्षम मन्त्री गुमाएको छ भने संसदले एक तर्कयुक्त, क्षमतावान, कुशल सांसद गुमाएको छ । हामीले एक हसिलो, मिलनसार तथा लोकप्रिय युवानेता गुमाएका छौं । नेपाली राजनीतिमा उहाँको अभाव सधै खट्किरहने छ ।’
यसैगरी निजी क्षेत्रबाट मुलुकको समृद्धि तथा विकासमा समर्पित पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको निधनबाट राज्यले एक सफल उद्यमी गुमाउन पुगेको समेत उनले बताएका छन् । साथै राष्ट्रसेवक कर्मचारी तथा हेलिकोप्टर पाइलटको निधनले पनि राष्ट्रलाई ठूलो क्षति भएको उनले बताए ।
शोक वक्तव्यको अन्तमा उनले लेखेका छन्, ‘ताप्लेजुङ्ग हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीसहित उद्यमी शेर्पा, राष्ट्रसेवक कर्मचारीहरु, पाइलटप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजन एवं आफन्तमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया