काठमाडौं। सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको तेस्रो समूहको ‘एपीएफ कमान्ड तथा स्टाफ कार्स’ अन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत खनियाले ‘बेस्ट कमान्ड एन्ड स्टाफ कोर्स अवार्ड’ प्राप्त गरेका छन् ।
यसैगरी, सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले बेस्ट एकेडेमिक अवार्ड र देवराज अर्यालले बेस्ट रिसर्च अवार्ड प्राप्त गरेका छन् । गत वर्षको ४ असोजबाट १८ महिना सञ्चालित यो कोर्समा १९ जना डीएसपीको सहभागिता रहेको थियो ।
सो कोर्समा सहभागी अधिकृतलाई स्टाफ ड्युटिज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानुन, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजनालगायतका विविध विषयमा विज्ञद्वारा प्रशिक्षण दिइएको थियो ।
यो कोर्सलाई त्रिभुवन विश्वविद्यालयको सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर मानिँदै आएको छ । यो कोर्सलाई वृत्तिविकासका लागि फलामे ढोका नै मानिएको छ ।
सशस्त्र प्रहरी बलको स्थापनापछि भर्ना भएर डीएसपी भएकाहरूले यो कोर्समा सहभागी हुन पाउँछन् । यो कोर्स गर्न नसक्नेहरू बढीमा एसएसपी मात्रै बन्न सक्नेछन् । सशस्त्रमा डीआईजीका लागि स्टाफ कोर्स गरेकै हुनुपर्छ । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया