काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल–भारतबीचको विधुत व्यापारसम्बन्धमा दिएको अभिव्यक्तिबारे संसदीय समितिमा आवाज उठेको छ ।
राजदूत सोङले केही दिन अघि काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाल–भारतबीचको विद्युत व्यापार घाटामा गइरहेको अभिव्यक्ति दिएका थिए ।
आज बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै सांसदहरुले आपत्ति जनाएका हुन् ।समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजदूतहरुले नेपालले भू–राजनीतिक संवेदनशीलतालाई ध्यान दिनुपर्ने बताए ।
कसैको अभिव्यक्तिबाट नेपालमा जटिलता थपिनु नहुनेमा सबैले ध्यान पु¥याउनुवपर्ने नेपालको भनाइ रहेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले नेपालको आन्तरिक मामिलामा तेस्रो पक्षले टिप्पणी गर्ने परम्परा बस्न दिन नहुने बताए । साथै अरुको घरेलु मामिलामा बोल्नु अन्तर्राष्ट्रिय कुटनीतिको हिसाबले पनि ठिक नहुने उनको भनाइ रहेको छ ।
त्यस्तै यता नेकपा एमालेका सांसद भीम आचार्यले नेपालको आन्तरिक मामिलामा कुनै पनि देशले बोल्नु राम्रो नभएको टिप्पणी गरे ।
यता लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले चिनियाँ राजदूतको अभिव्यक्ति घोर आपत्तिजनक भएको टिप्पणी गरे । दुई देशबीचको आन्तरिक सम्बन्धमा तेस्रो व्यक्तिले अभिव्यक्ति दिँदा सम्बन्धमा नै गलत असर गर्ने बताए ।
त्यस्तै राप्रपाका महामन्त्री एवं सांसद धवलशमशेर राणाले चिनियाँ राजदूतको अभिव्यक्तिले दुइ देशबीचको सम्बन्धमा खलल पुग्ने भन्दै उनलाई सरकारले सचेत गराउनुपर्ने बताए ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि उनको अभिव्यक्तिबारे आपत्ति जनाए । सांसद खनालले राजदूतहरुले नेपालको अन्य देशसँगको सम्बन्धका बारेमा टिप्पणी गर्न थालेमा देश भू–राजनीतिक जटिलतातर्फ देश जाने बताए ।
यता प्रेम सुवालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तत्कालीन भारतका लागि नेपाली राजदूतले चीनसँगको सम्बन्धको बारेमा टिप्पणी गरेको तर्फ संकेत गर्दै कुटनीतिक नियोगका व्यक्तिहरुले अन्य राष्ट्रका बारेमा अभिव्यक्ति दिँदा सम्बन्धमा संकट आउने बताए ।
त्यस्तै, सांसद प्रभु साहले छिमेकी राष्ट्र नेपाल–भारतबीचको सम्बन्धमा चीनले बोल्नु जरुरी नभएको बताए । अहिले आफ्नो अभिव्यक्ति सच्याउन र आगामी दिनमा त्यस्तो अभिव्यक्ति नदिन समेत आग्रह गरे ।
आज बसेको प्रतिनिधि सभा बैठकमा समेत चिनियाँ राजदूतको अभिव्यक्तिबारे आलोचना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया