काठमाडौं । मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले, राज्यले नागरिकलाई वैवाहिक समानताको अधिकार नदिनु विड्म्बनापूर्ण भएको टिप्पणी गरेकी छिन् ।
मितिनी नेपालले आज काठमाडौंमा आयोजना गरेको विवाह समानतामा पत्रकारसँग अन्र्तक्रियामा उनले राज्यले यौनिक तथा अल्पसंख्यक समुदायलाई पहिचानको आधार र अधिकार नदिनु विडम्बनापूर्ण भएको बताइन् ।
कार्यक्रममा घलानले, यौनिक तथा अल्पसंख्यक समुदायका मुद्दा राज्यले सम्बोधन नगर्दा समस्या परेको दुखेसो गरिन् । यौनिक तथा अल्पसंख्यक समुदायले वैवाहिक समानताको लागि लामो समय संघर्ष गर्दा पनि अधिकार नपाउनु निकै विडम्बनापूर्ण भएको उनको भनाई छ ।
लामो समय अधिकारको लागि लड्दै आएपनि राज्यबाट अधिकार नपाउँदा विविध समस्या र चुनौतिको सामना गर्नुपरेको उनले बताइन् । ‘हाम्रो समुदायमा पनि अन्तर्जातिय विवाह हुन्छ । जातको कुरा हुन्छ । भाषा र धर्मको कुरा हुन्छ । त्यो बाट गुज्रिएको हामी हौं । स्वयम् म पनि हो । मेरो समुदायको सम्पूर्ण साथिहरुपनि हुनुहुन्छ ।’ उनले भनिन् ‘ ती साथिहरुले पनि दुःखहरु खेप्दै खेप्दै आएका छन् । जुन समयमा जसरी म लड्दै आँए, पाइला टेक्दै टेक्दै आए आज यहाँसम्म आइपुग्दा पनि मैले आफ्नो पहिचानको आफ्नो सम्बन्धलाई कायम गर्ने राज्य सित अधिकार माग्दा खेरी राज्यले दिदैन् । यो हाम्रो समुदायको लागि विडम्बना हो।’
उनले आफ्नो समुदायले समाज, राज्य र परिवारबाटै पीडित हुनुपरेको लगायतका विविध चुनौतिसँग संघर्ष गर्दैै आएपनि यौनिक तथा अल्पसंख्यक समुदायको पहिचानको अस्तित्व स्वीकार नगरिँदा राज्यबाट अन्यायमा परेको उल्लेख गरिन ।
उनले महिलाभित्रको विविधतालाई हेरेर वैवाहिक सम्बन्धलाई स्वीकार गरिनु पर्ने बताइन् ।
आफ्नो विवाहकै दुई दशक बढी वितिसक्दा आफ्नो विवाह स्वीकार्ने कानून नभएकोले असुरक्षा महशुस गरेको गुनासो गर्दै उनले भनिन्, ‘सुरक्षाको कुरा गर्ने हो भने पनि मैले २४ वर्ष वैवाहिक सम्बन्धमा बसिसक्दा पनि अझै पनि सम्बन्धलाई पहिचान गर्ने कुनै एउटा आधार भएन । वैवाहिक सम्बन्ध तिमिहरुले पायौ भनेर अस्थाई अभिलेख राख भनेर जुन वैवाहिक सम्बन्धको अस्थाई अभिलेख दियो त्यसले केही हदसम्म हाम्रो एउटा खाका बनेको होकि जस्तो महशुस गर्यौं । तर विडम्बना जतिपनि अस्थाई अभिलेख गरिएका छन् त्यो कागजमा मात्र सिमित छ । व्यवहारिक जीवनमा दैनिक हामीले विविध क्रियाकलाप गरिरहेका छौं, तर कहिल्यै पनि हामीले खुसीको क्षण र अधिकार पाएको महशुस गर्न पाएको अवस्था छैन ।’
मितिनी नेपालले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकारका लागि लबिङ र वकालत गर्ने, जनाचेतना जगाउने,उक्त क्षेत्रका लक्षित वर्गलाई क्षमता विकास र सीप सिकाउने,कानूनी र मानसिक परामर्श दिने लगायतका विविध कार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया