काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजदेखि राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा गर्दैछ ।
धर्म निरपेक्षताको खारेजी र धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको माग गर्दै आज (मंगलवार) बिहान १० बजेदेखि राप्रपाले राष्ट्रिय स्वाभिमान मेची महाकाली यात्रा शुरु गरेको हो ।
पार्टी अध्यक्ष कमल थापाले बिहान १० बजे ताप्लेजुङको पाथीभरा मन्दिरबाट अभियानको शुरुवात गर्नेछन् । यात्राको शुभारम्भ अघि राप्रपाले पाथिभरा मन्दिरमा गएराती अनुष्ठानको आयोजना समेत गरेको थियो ।
यसैगरी आजै दिउँसो ३ बजे पाँचथर सदरमुकाम फिदिममा आमसभा हुने पार्टी महामन्त्री राजेन्द्र लिङदेनले जानकारी दिए ।
राजसंस्था सहितको सबै शक्तिहरु अटाउने, नेपाली संस्कृतिको मौलिक प्रजातन्त्र कायम गर्न गोलमेच सम्मेलनको माग गर्दै राप्रपाले १५ दिने अभियान शुरु गर्न लागेको हो ।
राष्ट्रिय स्वाभिमान मेची महाकाली अभियानका क्रममा ३६ जिल्लामा १ सय भन्दाबढी स्थानमा राप्रपाले सभाको आयोजना गर्ने जनाएको छ ।
अभियानका क्रममा राप्रपाले भोली (बिहीवार) झापाको बिर्तामोडमा वृहत्त शक्ति प्रर्दशन गर्ने भएको छ ।
२ हजार ८ सय ७ किलोमिटर दूरीको यात्राका क्रममा स्थानअनुसारको संस्कृति र भेषभुषा झल्कने गरी संस्कृति एवं झाँकी समेत प्रर्दशन हुने राप्रपाको भनाई छ ।
ताप्लेजुङबाट शुरु भएको यात्रा कञ्चनपुरबाट कास्की, तनहुँ हुँदै काठमाडौंमा आएर फागुन ३० गते सम्पन्न हुने छ । हरेक सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री लिङदेनले जानकारी दिए ।
त्यस्तै आफूहरुले उठाएको २२ बुँदे माग सम्बोधन गर्न राप्रपाले सरकारसाग माग गरेको छ । साथै राप्रपाले २०४७ सालयता उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन, आरक्षणको सुविधाबाट बञ्चित रहेका तथा विपन्न जाति समूहलाई समेत सवै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षण, कक्षा १० सम्म संस्कृत शिक्षा अनिवार्य लगायत माग पनि अघि सारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया