प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनको अभिव्यक्ति गैरजिम्मेवार : डा. शेखर कोइराला

लोकपथ
28
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले जिम्मेवार पदमा रहेका व्यक्तिहरुले गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जनता सडकमा उतार्ने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सिंहदरबारमा आगो लगाउने अभिव्यक्तिबारे संकेत गर्दै सो कुरा बताएका हुन् ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले देशको सबैभन्दा ठूलो महानगरपालिकाको मेयर र देशको प्रधानमन्त्रीले अराजक किसिमले बोल्न नमिल्ने भन्दै यसरी देश नचल्ने बताए ।

कार्यक्रममा बोल्दै उनले कर्मचारी भनेको देशको स्थायी सरकार हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताए ।

उनले भने, ‘कर्मचारीको मनोबल खस्किएरको सुनिन्छ, किन भन्दा १० वर्ष भइसक्यो निजामती सेवा ऐन अझै हामीले ल्याउन सकेको छैनौं । कर्मचारी भन्ने वित्तिकै सरकार हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ । उनीहरू यो देशको स्थायी सरकार हुन् भन्ने कुरा बुझ्न जरुरी छ त्यता हाम्रो ध्यान गएको छैन् ।’

राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले सही स्थानमा नेपाल नभएको भन्दै उनले नेपालजस्ता वहुभाषिक, वहुजातीय देशमा जातीय द्वन्द्व हुने हो भने देश अगाडि बढ्न नसक्ने जिकीर गरे ।

उनले भने, ‘राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृति, धार्मिक र कूटनीतिक कुनै पनि हिसाबले देश ठीक स्थानमा अगाडि बढ्न सकेको छैन । केही समय अगाडि भएको घटना धार्मिक युद्ध हो कि जस्तो लाग्यो तर त्यो धार्मिक युद्ध होइन, त्यसमा जातीय गन्ध मिसिएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?