नेपाली काँग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थसमितिमा दौडधूप सुरु भएको छ । पार्टी नेतृत्वको हस्तक्षेप र दवावका कारण नेविंघका निवर्तमा अध्यक्ष नैनसिंह महरले माघ २८ गते पदबाट राजीनामा दिएका थिए ।
महरको राजीनामासँगै तदर्थ समितिको संयोजक बनाउदा ३२ वर्ष उमेरहद लगाउने कि नलगाउने भन्नेमा पार्टीभित्रै विवाद छ । जसकारण महरले पदबाट राजीनामा दिएको १५ दिन भइसक्दा समेत पार्टीले निर्वाचनका लागि तदर्थ समिति गठन गर्न सकेको छैन ।
पार्टीको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका धेरै जसो नेता १२ औं महाधिवेशनबाट मात्रै विधान कार्यान्वयनमा आउने भएकाले अहिल्यै ३२ वर्षे उमेरहद लगाउन नहुने पक्षमा छन् ।
जसले तदर्थ समिति ३२ माथिकै बन्ने सम्भावना रहेको नेविसंघ स्रोत बताउँछ । संयोजकका लागि ३२ वर्षमाथिका ६ र ३२ वर्ष मुनिका ३ जना नेताबीच दौडधूप चलिरहेको छ । फागुन १ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा तदर्थसमितिबाट नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति देउवालाई दिएको छ ।
३२ वर्ष माथिकाबाट नेतृत्वका शुभराम बस्नेत, राजीव ढुंगाना, मनोजमणि आचार्य, सरोज थापा, पुष्पकुमार शाही, ऋषिकेशजंग शाह लागि परेका छन् ।
यता ३२ वर्ष मुनिका सुशील भट्ट, गणेश सापकोटा , अम्बिका चलाउने र प्रेमराज जोशीले संयोजकमा दाबी गर्दै आएका छन् । तदर्थसमतिबाट उम्मेरहद लागु हुनुपर्ने माग गर्दै ३२ मुनिका नेताहरु पार्टी नेतृत्वलाई दबाब दिरहेका छन् ।
यता ३२ माथिका नेताहरुले १२ औं महाधिवेशनबाट मात्रै विधान कार्यान्वयनमा आउने भन्दै तदर्थ समितिमा ३२ वर्षे उमेरहद लागु हुन नसक्ने बताउँदै आएका छन् ।
आफू निकटका विद्यार्थी नेताहरुलाई पार्टीका नेताहरुले बोक्ने गरेका छन् । जसमा महामन्त्री पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले शुभराम बस्नेतलाई नेविसंघको नेतृत्वमा ल्याउन पार्टी सभापति देउवासामु प्रस्ताव गरेको स्रोतले बतायो । उनी देउवा समेतको प्रिय पात्र भएकाले माहोल बन्दै गएको स्रोतको भनाई छ । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले मनोजमणि आचार्यको नाम प्रस्ताव गरेका छन् भने उपसभापति विमलेन्द्र निधि निवर्तमान कार्यसमितिका महामन्त्री सरोज थापाको नाम पेश गरेका छन् ।
यता ज्ञानेन्द्र कार्की, मिनेन्द्र रिजाल र कल्याण कुमार गुरुङलले राजीव ढुंगानाको नाम पेश गरेको छन् ।
३२ वर्षमाथिबाट संयोजकको दाबेदारमा सबैभन्दा अघि रहेका बस्नेत नेविसंघको ११ औँ महाधिवेशनका अध्यक्षका उम्मेदवारसमेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया