पार्टीको नेतृत्व केपी ओलीबाहेक अरूबाट हुन सक्दैन : उपाध्यक्ष विष्णु पौडेल

लोकपथ
35
Shares

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको नेतृत्व केपी ओलीभन्दा अरूबाट नहुने बताएका छन् ।
शनिवार बुटवलमा सुरु भएको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् ।

एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या नभएको र नीतिमा स्पष्ट रहेकाले नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नभएको उनले बताए ।

ओलीकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको र त्यसमा कोही कसैले कुण्ठित विचार नराख्न उनले आग्रह गरेका छन् ।

साथै उनले एमालेभित्र विधि र नीतिको विषयमा कुनै विमति नभएको, नेतृत्वको विषयमा कुनै विवाद नभएको र विवाद ल्याउने कोसिसलाई पानीको फोकाजस्तै बनाएर जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै उनले अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा एमाले प्रष्ट रहेको बताए ।

पौडेलले पार्टी र गुट विपरीत भएकाले गुट बन्न नदिने तरिकाले अगाडि बढाएको तथा एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको र गुट-उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्ने बताएका छन् ।

उनले एमालेले जित्नै पर्ने ठाउँ गुमेको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको विषय प्रदेश अधिवेशनमा गम्भीर समीक्षा बन्नुपर्ने बताए ।

लुम्बिनीमा एमाले बलियो भएको देख्न नसक्ने शक्तिले चलाएको हल्लामा नेताकार्यकर्ताहरुले वास्ता गर्न नपर्ने उनको भनाइ छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?