कहिले रोकिएला सडक व्यापारी र महानगर प्रहरीबीचको लुछाचुँडी ? (भिडियोसहित)

लोकपथ
507
Shares

काठमाडौं । सडक सवारीका लागि हो । पैदल मार्ग सर्वसाधारणका लागि । शहरको सुन्दरता सडकको अवस्था र व्यवस्थापनमा झल्किन्छ । तर अनावश्यक रुपमा सडक र पैदलमार्गलाई अवरोध गरेर हुने गाढाको व्यापारले काठमाडौंलाई थप अव्यस्थित र अस्तव्यस्त बनाइरहेको छ ।

हुनत तल्लो वर्गको आम्दानीको मुख्य आयआर्जनको बाटो भनेकै त्यही सडक र गाडाको व्यापार भए पनि त्यसको व्यवस्थापन नहुँदा थप समस्या पैदा भइरहेको छ ।

पहिल्यैदेखि अव्यवस्थित रुपमा सडकमा व्यापार गर्ने प्रवृत्ति थियो । न सरकारले त्यसलाई व्यवस्थित गर्न ध्यान दियो न सम्बन्धित निकायले नै । अहिले काठमाडौं महानगरले सडक र शहरलाई व्यवस्थित बनाउने केही पहल गरिरहेको छ ।

महानगरको आँखा छल्दै व्यापारीहरु गाढामा तरकारी, फलफूल र चटपटे लिएर सडकमा निस्किन्छन् । महानगरको आँखा त्यहाँ नपुग्दासम्म सडकको पेटीमै राखेर व्यापार गर्ने प्रवृत्ति देखिन्छ ।

जसको कारण महानगरले भीडभाड हुने मुख्य क्षेत्रमा निगरानी बढाइरहेको हुन्छ । कतिपय अवस्थामा उनीहरुलाई सडकबाट हटाउने नाममा व्यापारीमाथि महानगरले अमानवीय हर्कत पनि गरिरहेको हामीले देख्न सक्छाैँ ।

महानगरले निषेध गरिदिएको स्थानमा हुने व्यापारलाई महानगरले नियमन गरिरहेको हुन्छ । उनीहरुलाई पटकपटक सचेत गराउँदा पनि नमानेपछि महानगरले व्यापार गरिरहेकाहरुको गाढा, तरकारी तथा फलफूल नै उठाउने गरेको छ । जसको कारण महानगर नै त्यही गाढाले भरिएको छ ।

महानगरले टेकुस्थित ७ रोपनीमा बनाएको स्टोर भरिएपछि अहिले केन्द्रीय कार्यालय बागदरबार स्टोर गरिरहेको छ । त्यहाँ रहेको गाढालाई महानगरले निश्चित समयपछि लिलाम गर्ने गरेको छ । तर लिलाम गर्दा चाँही त्यसलाई कवाडमा परिवर्तन गरेर महानगरले लिलाम गर्ने गर्दछ । तर बरामद भएको फलफूूल तथा तरकारी जो कुहिने हुन्छ, तिनीहरुलाई चाँही त्यँही निश्चित जरिवाना तिराएर फिर्ता दिने गरेको बताउँछन् काठमाडौं महानगरका महानगरप्रहरी प्रमुख राजुनाथ पाण्डे ।

यसरी महानगरको आँखा छलेर व्यापार गर्नुपर्ने व्यापारीहरुको अवस्था र जहाँ भिडभाड हुन्छ त्यहीँ व्यापार गरिरहेका व्यापारीहरुलाई हटाउने महानगर प्रहरीको डिउटी । वर्षौँदेखिको यो दुुई पक्षबीचको लुुकामारीको खेललाई सम्बन्धित निकायले व्यवस्थापन गरी शहरलाई व्यवस्थित गर्नुुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?