कोशी प्रदेश मिलाउन संसदीय समितिमा राप्रपाको ‘इन्ट्री’

लोकपथ
287
Shares

काठमाडौं । प्रमुख राजनीतिक दलहरुको भागबण्डामा टुंगिएको संसदीय समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘इन्ट्री’ भएको छ ।

संसदीय समितिलाई राजनीतिक दलहरुले भागबण्डा गरेकोमा आपत्ति जनाइरहेको राप्रपा अन्ततः भाग पाएपछि गठबन्धनको सहयात्री दल बनेको छ ।

संघीय संसद सचिवालयमा पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा माओवादीका माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन् ।

यसअघि माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपाले पाएको हो । कोशी प्रदेशमा भइरहेको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न राप्रपालाई समेत संसदीय समितिमा ल्याएको माओवादी सांसद माधव सापकोटाले जानकारी दिए । राजनीतिक रुपमा सहमतिको सन्देश दिनका लागि राप्रपालाई समेत समितिमा ल्याएको उनले बताए । राप्रपालाई पनि समितिमा ल्याउने तयारी भए पनि सहमति जुट्न नसकेको उनले बताए ।

‘राष्ट्रिय सहमति खोज्न राप्रपा र रास्वपालाई एक–एक समितिको जिम्मेवारी दिने तयारी रहेको थियो । तर अन्तिम अवस्थामा रास्वपा सहमतिमा नआएपछि राप्रपालाई एक समितिको जिम्मेवारी दिइएको हो’ उनले भने, ‘केन्द्रको मात्र नभएर कोशी प्रदेशको स्थिरताको कुराले पनि रास्वपालाई सहमतिमा ल्याइएको हो ।’

कोशीमा लामो समयदेखिको विवाद र अस्थिरता अन्त्यका लागि राप्रपा निर्णायक छ । तर राप्रपा एमालेसँग मिलेका कारण कोशीमा कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारले विश्वासको मत दिएको थिएन । जसको कारण दुवै पटक सभाध्यक्षको सहयोगले निर्माण भएको कोशी प्रदेश सरकारलाई अदालतले असंवैधानिक करार गरेसँगै यतिबेला कोशी सरकार अन्यौलमा छ ।

राप्रपाको केन्द्रमा इन्ट्रीले कोशी प्रदेशको राजनीतिक अस्थिरता हट्ने उनको विश्वास रहेको छ ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने भागबन्डा हिस्सा पाएन ।

अरू दलहरूले आफूलाई भाग नदिएपछि एउटा समितिमा रास्वपाले छुट्टै उम्मेदवारी दर्ता गरेको छ ।

भोलि हुने निर्वाचनका लागि प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा धेरै तीन जनाले उम्मेद्वारी दिएका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ। त्यो बाहेक माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जनमत र जसपाले एक एकवटा सभापतिमा उम्मेद्वारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?