काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको भविष्यमाथि कुनै खतरा नभएको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता घिमिरेले सामान्यतया गठबन्धनभित्र समस्याहरु आईरहने बताए । तर, ती समस्याहरु समाधान गर्दै जाने नै अहिलेको आवश्यकत्ता भएको उनको तर्क छ ।
उनले भने,‘यो सरकारको आयुको कुरा गर्दा लगभग एक किसिमको समझदारी बनेको छ । सुरुको समयमा प्रचण्डजीले नेतृत्व गर्ने, त्यसपछि केही समयको लागि माधव नेपालले नेतृत्व गर्ने र अन्तिमको समयमा हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने भनेर गर्ने भनेको सुनेको छु । अहिलेसम्म सरकारका बारेमा जे÷जति कुरा आएका छन्, यी विषयहरु सरकार ढल्नुपर्ने र सरकारको समिकरण परिवर्तन गर्नुपर्ने अवस्थाको छैन् ।’
उनले ललिता निवास प्रकरणमा छानबिन गरिरहेका कोही पनि प्रहरी अधिकृतहरुलाई सरुवा नगरिएको स्पष्ट पारे । उनले नेपालमा व्यक्तिअनुसार फरक फरक कानून नभएको जिकिर गरे । उनले भने,‘कानून दुई वटा छैन् । सन्दीप लामिछानेलाई हत्कडी लगाउन आवश्यक थिएन । यदि भागेर जाने सम्भावना छैन भने गिरफ्तारी गर्नुहुँदैन् । जघन्य अपराधमा बाहेक थुनेरै अनुसन्धान गर्नुपर्छ भन्ने छैन् । सन्दीप लामिछानेमाथि हत्कडी लगाउने काम गलत भयो ।’
कार्यक्रममा नेकपा (एमाले) का प्रभावशाली नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अहिलेको सरकारले सुशासनलाई केवल स्टन्टमात्रै बनाएको बताए । उनले सरकारले ललिता निवास, सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयलाई निश्कर्षमा पुर्याउन नसक्ने बताए ।
उनले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई घुमेर सम्भावित देखिएका मान्छेहरुलाई अलग्गै बाहिर राखेर अभियोजन दर्ता भएको आरोप लगाए । उनले सम्भावित मानिसहरुलाई अनुसन्धानको दायरामा नल्याई अभियोजन हुनुले उक्त प्रकरण अन्तिम निष्कर्षमा पुग्दैन भन्ने एमालेको निष्कर्ष रहेको बताए ।
शरणार्थी प्रकरणमा अदालतमा पेश भएका प्रतिवेदनले अन्तिम निष्कर्ष दिन नसक्ने उनको दाबी छ । वर्तमान सरकारले यदि सुशासनको नेतृत्व गरेको हो भने शरणार्थी प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याउन जरुरी रहेको उनको भनाई छ ।
त्यसैगरी, ललिता निवास प्रकरणमा नाम मुछिएका मानिसहरु सबै आर्थिक लाभकै कारण संलग्नता नभएपनि न्यायिक प्रश्न उठेपछि न्यायिक कसीमा जाँचिनुपर्ने उनले बताए ।
‘ललिता निवास प्रकरणमा संलग्नता भनिएका, अहिले हामी फलानो पनि भनेर जसरी नाम चर्चा गर्छौं, कतिपय व्यक्ति व्यक्तित्वको सम्बन्धमा आर्थिक लाभकै सन्दर्भमा आफूलाई संलग्न गरेर निर्णय गर्यो भनेर म भन्दिन । तर, न्यायिक हिसाबले प्रश्न उठे पछाडि एकचोटी न्यायिक कसीमा जाँचिनु पर्दछ,’– उनले भने ।
अहिलेको सरकारको आयु कांग्रेस व्युँझिएको दिनसम्ममात्रै बाँकी रहने उनको टिप्पणी छ । कांग्रेस अहिले चिर निन्द्रामा रहेको र कहिले काही व्युँझिएकोजस्तो गर्यो भनेपनि भष्टाचारमा मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमलिएको उनले बताए ।
‘कांग्रेस अहिले व्युँतिरहेको छैन, कांग्रेस अहिले चिर निन्द्रामा छ । कहिले काही व्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे को–को भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नु हुन्छ,’– नेता तामाङले भने ।
यस्तै नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य दिलु पन्तले सरकारले सुशासनको पक्षमा र समृद्धिको लागि कटिबद्ध भएर काम गरेको दाबी गरेकी छिन् । उनले पार्टीले सरकारको सुशासनको एजेण्डामा दरिलो साथ दिइरहेको पनि स्पष्ट पारिन् ।
उनले भनिन्–‘अहिले हाम्रो पार्टीको केन्द्रीय कमिटीको छैटौं पूर्ण बैठक भर्खरै सम्पन्न भैसकेको छ । भ्रष्टाचारलाई समुल अन्त्य गर्नको निम्ति हामीले सडकदेखि सदनसम्म आवाज बुलन्द बनाउने भनेका छौं । सरकारले भ्रष्टाचारको विरुद्धमा चालेको कारबाहीमा सघाउने भनेका छौं । सरकारले गरेको छानबिनलाई साथ दिने भनेका छौं । तर, सरकारले छानबिन लुकाउन खोजेमा हामी विरोध गर्दछौं । अहिले सरकारले ठीक ढंगले काम गरेको छ । यसमा हाम्रो पूरा साथ र समर्थन छ।’
नेतृ पन्तले अहिले आफ्नो पार्टीभित्र कुनै विवाद नभएको पनि दाबी गरिन् । उनले भनिन्–‘हाम्रो पार्टीभित्र कुनै विवाद छैन् । हामीले समृद्ध नेपाल निर्माणको लागि विद्रोहसहित नेकपा (एकीकृत समाजवादी) बनाएका हौं । हामी समृद्ध नेपालको लागि कटिबद्ध छौं । हाम्रो विद्रोह पुष्टि हुँदैछ । एउटा जीवन्त पार्टीभित्र बहस हुन्छ । छलफल हुन्छ । अनि अहिले उठेका विषयलाई विवाद मान्नुहुँदैन् ।’
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता केशब झाले प्रचण्ड नेतृत्वको वर्तमान सरकारको आयुमा ग्रह र दशा नलागेको स्पष्ट पारेका छन् । उनले भने,‘यो सरकारको आयु कुरा गर्दा अहिले सरकारले राम्रै काम गरेको छ । सुशासनको पक्षमा र भ्रष्टाचारको विरोधमा सरकार एग्रेसिभ रूपमा अघि बढेको छ । सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ। यसले जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ । आशा जगाएको छ । जसरी अहिले सरकार कडाईका साथ अघि बढेको छ, गठबन्धन एक ढिक्का भएको छ। सरकार अलिकति पनि दायाँबायाँ हुँदैन् । कसैले शंका गर्ने ठाउँ छैन् । सरकारको आयुमा ग्रह र दशा लागेको स्थिति छैन । सरकार राम्रोसँग अघि बढ्छ ।’
नेता झाले सुन काण्ड र भ्रष्टाचारको सन्दर्भमा आफ्नो दल भ्रष्टाचार गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ भन्ने पक्षमा दृढ रहेको बताए । उनले भने,‘हामी गठबन्धनमा पनि छौं । भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिनुहुँदैन् । भ्रष्टाचार किन हुन्छ ? भन्ने कुरा पनि गम्भीर विषय हो । अब भ्रष्टाचार नहुने वातावरण सिर्जना गर्नुपर्छ । सुन काण्डको सन्दर्भमा जसरी अहिले अपराधीलाई समात्ने काम भएको छ । अपराधीहरुलाई कानूनी दायरामा ल्याउने कामको समर्थन गरेका छौं ।’
नेता झाले अहिले धरानमा भैरहेको आन्दोलनको अवस्थाबारे पनि गम्भीर भएर सोच्नुपर्ने बताए । उनले भने,‘नेपाल भनेको विविधतायुक्त देश हो । हामी यहाँ सबैखाले विचार मान्ने समूदाय छौं । सबैको समान अधिकार छ । कुनै प्रकारको द्धेष र द्धन्द्ध फैलिनुहुँदैन् । जातीय र धार्मिक द्धन्द्ध फैलिनुहुँदैन् । जनता जनताबीच फाटो ल्याउनुहुँदैन् । अतिवादलाई बढावा नदिउँ । सबै मिलेर अघि बढ्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया