प्रदीप गिरि भारतीय उपमहादीपकै महान व्यक्तित्व : भारतीय प्राध्यापक मल्लिक

लोकपथ
28
Shares

काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरिको विचार, दर्शन र चिन्तनबारे भारतमा महत्वपूर्ण चर्चा भएको छ ।

बनारसस्थित हिन्दू विश्व विद्यालय (बीएचयू)मा आयोजित कार्यक्रममा कांग्रेस आइ र भाजपासहित विभिन्न भारतीय राजनीतिक दलका नेतागण तथा  प्राध्यापकहरूले प्रदीप गिरिको व्यक्तित्वबारे चर्चा गरेका छन् ।

कांग्रेस आईका केन्द्रीय सदस्य मोहनप्रकाशले आफूहरूको पिंढिमा प्रदीप गिरि जस्तो विद्वान नरहेको दाबी गरे । उनले आफुहरु दुबैले बीएचयूमा अध्ययन मात्र नगरेर नेपाल र भारतमा लोकतन्त्र स्थापनार्थ सँगसँगै सङ्घर्ष पनि गरेको बताए ।

उनले भने ‘बीएचयूमा पढ्दैगर्दा पनि प्रदीप गिरिको प्राथमिकता डिग्री हासिल गर्नेभन्दा पनि लोकतन्त्र हासिल गर्नु नै थियो। परीक्षा दिन पनि उहाँलाई हामीले जबर्जस्ती परीक्षा हलमा लैजानुपर्थ्यो । प्रदीप गिरिजस्तो पढालिखा र अध्ययनलाई आचरणमा उतार्न सक्ने व्यक्तित्व मैले मेरो जीवनकालमा अहिलेसम्म भेटेको छैन । ’

विद्रोही नेताको छवि बनाएका गिरिले आफ्नो दलभित्र र बाहिर कतैपनि कहिल्यै सम्झौता नगरेको कांग्रेस आईका केन्द्रीय सदस्य मोहनप्रकाशको भनाइ छ ।

उनले भने ‘जो कसैलाई प्रभावित पारेर आफ्नो विचारमा डो¥याउन सक्ने जबर्दस्त खुबी प्रदीप गिरिमा थियो। धेरै साथीहरू गए तर प्रदीप गिरि जाँदा भित्रैदेखि अति नै अभाव महसुस हुन्छ।’

त्यस्तै प्राध्यापक मल्लिकले आफूले प्रदीप गिरिजस्तो विद्वानसँग सङ्गत गर्न पाएकोमा गर्व महसुस गरेको बताए ।

उनले भने ‘मैले देश–विदेश धेरै घुमे, थुप्रै विद्वानहरू र सामाजिक विज्ञानका हस्तीहरूसँग भेटें। तर प्रदीप गिरिजस्तो चलताफिरता विद्वान भेटेको छैन। भारतीय उपमहाद्वीपमा मैले जीवित छँदा भेटेका मानिसहरूमध्ये सबैभन्दा महान व्यक्ति प्रदिप गिरि हुनुहुन्छ। उहाँमा मार्क्सवादको राम्रो ज्ञान थियो। आफैं मार्क्सवादी पनि हुनुहुन्थ्यो तर मार्क्सको आलोचना पनि गर्नुहुन्थ्यो। चित्त नबुझेको कुरामा विरोध र आलोचना गर्ने उहाँको नैसर्गिक प्रवृत्ति थियो।’

मल्लिकले प्रदीप गिरिमा मार्क्सवादप्रति जवाहरलाल नेहरूभन्दा राम्रो बुझाइ भएको बताए ।

‘नेहरू जी धेरै ठूलो व्यक्तित्व हुनुहुन्थ्यो। तर मलाई लाग्दैन कि नेहरु जीमा प्रदीप जि जति मार्क्सवादको ज्ञान थियो।’ उनले भने ।

प्राध्यापक विन्दा परानजपे पाण्डेले आफूले प्रदीप गिरिलाई व्यक्तिगतरूपमा भेट्न नपाएकोमा दुख लागेको बताइन् ।

‘व्यक्तिगतरूपमा प्रदीप जीसँग चिनजानको सौभाग्य मैले पाएन। तर मैले अन्य विद्वानहरूबाट सुने–बुझेअनुसार नेपाल–भारत स्नेह र मैत्रिपूर्ण सम्बन्ध अगाडि बढाउने दिशामा प्रदीप जीको योगदान निकै महत्वपूर्ण छ।’ पाण्डेको भनाइ थियो ।

प्राध्यापक सुनिल सिंहले प्रदीप गिरि समकालीन नेताहरूमा सबैभन्दा दुरदर्शी रहेको र प्रदीप गिरिले नेपाली कांग्रेसको सशस्त्र विद्रोह असफल हुने आफूलाई पहिल्यै बताइसकेको दाबी गरेका छन् ।

‘समाजवादी विचारधारामा जान नेपाली कांग्रेसलाई डो¥याउनुभएका प्रदीप गिरि वीपी कोइरालापछि सबैभन्दा ज्यादा अध्ययनशील नेता हुनुहुन्छ। ’ सिंहले भने ।

उनले नेपालको राजनीतिमा बनारसको बेग्लै महत्व रहेको बताउँदै प्राध्यापक सिंहले नेपाल–भारत सम्बन्ध सुदृढ गर्नका लागि बनारसलाई केन्द्रमा राखेर एउटा मञ्च बनाइनु आवश्यक भएको बताए ।

प्राध्यापक  आरपी पाठकले प्रदीप गिरि बौद्धिक विलासमा मात्र नभई यथार्थ जीवनमा विश्वास गर्ने नेता भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?