काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुरका तत्कालीन आयुक्त जगदीश लामिछानेमाथि करोडौं रकम घुस मागेको आरोप लागेको छ । ललितपुरस्थित डुकुछाप टाउन प्लानिङको डीपीआर मन्त्रिपरिषद्बाट पास गराउन भन्दै लामिछानेले करोडौं रकम घुस मागेको आरोप लागेको हो ।
करिव १२ सय रोपनी क्षेत्रफलमा बन्न लागेको टाउन प्लानिङको डीपीआर काठमाडौं उपत्यका विकास प्राधिकरण ललितपुर आयुक्तको कार्यालयले तयार गरेको थियो । उक्त डीपीआर मन्त्रिपरिषद्बाट पास गराउन भन्दै ललितपुरका आयुक्त लामिछानेले व्यावसायीहरुसँग ५ करोड रुपैयाँसम्म घुस मागेको आरोप लागेको हो ।
लोकपथलाई प्राप्त सूचनाका आधारमा लामिछानेले उक्त डीपीआर मन्त्रिपरिषद्मा लैजानका लागि भन्दै मन्त्रालयका सहसचिवदेखि सचिवसम्मलाई घुस खुवाएको आरोप छ । उनले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनालीलाई ४० लाख रुपैयाँ घुस दिएका थिए ।
यद्यपि, फेरि अहिले नयाँ मन्त्री आएको र डीपीआर पास गर्न मन्त्रिपरिषद्मा लैजानुपर्ने भन्दै थप रकम असुल गर्न चलखेल गरेको लामिछानेमाथि आरोप छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणबाट प्रक्रियागत रुपमा निर्णय हुनुपर्नेमा गुपचुप रुपमा तत्कालीन सहरी विकास मन्त्री मेटमणी चौधरीलाई मन्त्रालयका तत्कालीन सचिव डा. रमेशप्रसाद सिंहमार्फत २० लाख रुपैयाँ बुझाएको आरोप उनीमाथि छ । अहिले मन्त्री परिवर्तन भएकाले डीपीआर पास गराउन ५ करोड रुपैयाँ घुस मागेको आरोप लामिछानेमाथि लागेको छ ।
ललितपुरमा रहँदा करोडौंको रकममा मुसिएका लामिछाने हाल काठमाडौंको आयुक्त छन् । उनी २०७९ जेठको अन्तिममा काठमाडौंमा सरुवा भएका हुन् । काठमाडौंको आयुक्त भएपछि पनि लामिछानेको कार्यशैलीलाई लिएर प्राधिकरणभित्रै आलोचना हुन थालेको छ ।
प्राधिकरणका कर्मचारीहरु लामिछानेको कार्यशैलीबाट रुष्ट हुँदै उनको सरुवा गर्न मन्त्रीलाई ध्यानाकर्षणसमेत गराएका थिए । लामिछानेले कार्यालयको काम सन्तोषजनक ढंगबाट नगरेको, कर्मचारीको मनोबल खस्काउने काम गरेको लगायतको आरोप कर्मचारीहरुले लगाएका छन् ।
गत जेठ २३ गते मन्त्रीको ध्यानाकर्षण गर्दै कर्मचारीहरुले ४ बुँदे माग राखेका थिए । जसमा प्राधिकरणभित्रका समस्यादेखि आयुक्तको दादागिरीलाई नियन्त्रण गर्नुपर्नेसम्म माग रहेका छन् ।
लामिछानेले ललितपुरमा गरेको बदमासीका बारेमा राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको छ । उनले डुकुछाप जग्गाको विकासका नाममा पटक पटक पैसाको बार्गेनिङ गरी मन्त्रालयका सहसचिव, सचिवदेखि मन्त्रीसम्मलाई प्रभावमा पारेको भन्दै केन्द्रमा उजुरी परेको स्रोतले जानकारी दियो । यस विषयमा केन्द्रले सुक्ष्म अनुसन्धान गरिरहेको सतर्कता केन्द्रका प्रहरी व्यवस्थापन तथा अनुगमन शाखाका प्रहरी नायब उपरीक्षक शिवकुमार पौडयाल बताउँछन् । ‘हामीलाई उजुरी परेको छ,’ उनले भने, ‘हामी यसबारे विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया