इलाम बजारबाट तराई जोड्ने द्रुतमार्गको निर्माण

मङ्गलबारे । इलाम बजारबाट तराई जोड्ने द्रुतमार्ग खुलेको छ । 

द्रुतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ । मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ । 

इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे पुग्ने १० किलोमिटर नयाँ मार्ग खुलेसँगै इलाम बजारबाट झापा पुग्न सर्वसाधारणलाई सहज भएको हो । गतवर्ष निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत रु १४ लाख ५५ हजार र जिल्ला समन्वय समितिको दुई लाख ५० हजारमा सडक निर्माण गरिएको हो । 

चालू आर्थिक वर्ष २०७५/७६ मा इलाम नगरपालिकाको १५ लाख र प्रदेश नं १ को पाँच लाख गरी २० लाख लागतमा मार्ग खुलेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी कटुवालले बताए ।

इलामको गोलाखर्क भञ्ज्याङबाट नयाँ ट्रयाक खुलेपछि राकसे हुँदै माई नगरपालिका, दानाबारी र झापाको खुदुनाबारी सडक पुरानो सडकमा यातायात सञ्चालन भएमा भाडादर कम लाग्ने स्थानीय बासिन्दाको भनाइ छ । 

उक्त सडकका लागि हाल रणनीतिक सडक योजनाअन्तर्गत एक करोड बजेट विनियोजन गरेकाले सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

मेची राजमार्गबाट झापा जोड्न करीब तीन घण्टाको सडकयात्रा तय गर्नुपर्ने बाध्यता रहेकामा अब गोलाखर्क भञ्ज्याङबाट बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापासम्म पुग्न सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?