बीमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गर्ने तीनजना पक्राउ

लोकपथ
299
Shares

काठमाडौं । बीमा रकम प्राप्त गर्ने मनसायले ललितपुरमा आफ्नै टिपरमा आगजनी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन १२ गते ललितपुरको ठेचोमा बा. ३ ख २८९४ नम्वरको टिपरमा आगजनी गर्ने तीनजनालई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो ।

टिपरको मासिक किस्ता तिर्ने गरी रू.१३ लाख रुपैयाँमा १३ महिना अघि रामेछापका प्रदिप कुमार खत्रीले खरिद गरी निजका कान्छा भाइ भिमसेन खत्रीले चलाइरहेका थिए । झण्डै चार महिना अघिदेखि उक्त टिपर ललितपुरको ठेचोस्थित नख्खुखोला करिडोर सडकखण्डमा बिग्रिएर थन्किएको थियो । मर्मत गर्न धेरै पैसा लाग्ने भएपछि टिपरलाई आगो लगाई बिमा रकम प्राप्तगर्ने उद्देश्यलेटिपरका मालिक प्रदीपकुमार खत्रीको योजनाबमोजिम रंग बहादुर बुढाक्षेत्री र भिमसेन खत्रीसमेतको मिलोमतो र संलग्नतामा टिपरमाथि पेट्रोल छर्किएर आगजनी गरिएको प्रहरीले जनाएको छ ।

आगो लगाएर प्रहरी वृत्त चापागाउँमा आगजनी गर्ने व्यक्तिको खोजतलास गर्न भन्दै प्रदीपले निवेदन दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । प्रदीपले पेश गरेको निवेदनमा शंका देखिएपछि प्रहरीले टिपर मालिक प्रदीपप्रति नै शंकाको सुई तेर्साएको थियो ।

अनुसन्धान गर्दै जाँदा बिमा रकम प्राप्तिका लागि आफ्नै टिपरमा आगजनी गरी अपराधिक उपद्रव गरेको देखिएकोले प्रदीपसहित तीन जनालाई पक्राउ गरी अपराधिक उपद्रव कसुरमा ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा प्रदीपसहित रंगबहादुर र भिमसेन खत्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?