बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्दार कार्य निरन्तर : नेपाली सेना

लोकपथ
52
Shares

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दारलाई निरन्तरता दिएको छ ।

नेपाली सेनाले, देशका विभिन्न स्थानमा परिचालित फौजले देशका विभिन्न ठाउँमा गएको बाढी तथा पहिरोबाट प्रभावितको उद्दार तथा राहतको काम भइरहेको जानकारी दिएको छ ।

मुस्ताङ्ग जिल्लाको कागखोला नदीमा लेदोसहित आएको बाढीको कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागबेनी बजार ईलाका जलमग्न/लेदोयुक्त भएको हुँदा स्थानीयवासी र आवश्यक सामग्री सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सेनाले जनाएको छ ।

‘पुलहरु बगाएका स्थानमा काठको अस्थायी पुल निर्माण गरी स्थानीयहरुलाई सहजीकरण गरिनुका साथै पीडित स्थानीयवासीहरुलाई खाद्यान्न तथा बन्दोवस्तीको लागि आवश्यक समन्वय तथा व्यवस्थापन गरिएको छ ।’ सैनिक जनसम्पर्क सूचना निर्देशनालयले भनेको छ ।

यस्तै, २८ गते गएको पहिरोमा परि बेपत्ता भएका दोलखा जिल्ला, विगु गाउँपालिका–७, तिनपानेका एकजना स्थानीयवासीको शव दुई वटा ढुङ्गाको बीचमा चेपिएर रहेको अवस्थामा फेला पारी प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ ।

म्याग्दी जिल्ला, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सीमानामा पर्ने बेनी–दरवाङ्ग सडक खण्डमा पहिरो गई सडक अवरुद्ध भएको हुँदा अन्य निकायहरुसंग समन्वय गरी पहिरो गएको स्थानमा ग्याविन जालीमा ढुङ्गा भरी तटबन्ध निर्माण गरिएको छ ।

त्यसैगरि, सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका–५ स्थित थामे खोलामा पानीको सतह बढ्न गई स्थानीय थामे गाँउमा क्षति पुग्न सक्ने भएको हुँदा स्थानीयवासीको सहयोगमा बाँध निर्माण गरिएको छ ।

सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका–६ स्थित नयाँबस्ती टोलमा मेलम्ची खोलामा आएको बाढीका कारण जोखिममा रहेका ६ वटा घरहरुबाट स्थानीयवासी लगायत सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाँके जिल्ला, बैजनाथ गाउँपालिका–१, नाङढुंगामा कोहलपुरबाट सुर्खेत जाँदै गरेको भे.१.ज. १०५० नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका यात्रुहरुलाई उध्दार गरी उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ ।

बाढी पहिरो प्रभावित देशका विभिन्न स्थानहरुमा उध्दार कार्यहरु जारी रहेको छ भने आकस्मिक विपद्को सामना गर्न फौजलाई तयारी अवस्थामा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?